३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

कांग्रेस नेता कार्यकर्तालाई चुनाव चिन्ता नगर्न महामन्त्री शर्माको निर्देशन

१ पुस, गलकोट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राख्नुभएको छ । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिनुभयो ।

उहाँले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनाऔँ”, शर्माले भन्नुभयो ।

सो अवसरमा आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताउनुभयो । “अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ”, महामन्त्री शर्माले भन्नुभयो, “सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।” उहाँले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति : 12:42