२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भनेर लाखौं ठगी गर्ने दुई जना पक्राउ

२४ मंसिर, काठमाडाैं । अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-६ घर भई ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ र झापाको विर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिषेकलाई शुक्रबार लगनखेलबाट र अञ्जेशलाई सिनामंगलबाट पक्राउ गरेको हो।अभिषेकले अमेरिकामा प्रतिष्ठित होटलमा काम लगाइदिने र त्यसका लागि ३५ लाख लाग्ने बताउँदै सुरूमा ८ लाख रुपैयाँ लिएकाे कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

त्यस्तै, अञ्जेशले दक्षिण अफ्रिकामा महिनाको १ लाख २० हजार तलब हुने काममा पठाइदिने भन्दै विजय खत्री लगायतका दुई जनाबाट पटकपटक गरी १७ लाख रूपैयाँ लिएका थिए। पैसा लिएर दुवै जना सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। पीडितहरूकाे उजुरीकाे आधारमा उनीहरूलाई पक्राउ गरिएकाे हाे । दुवैलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

प्रकाशित मिति : December 10, 2023 at 4:21 pm