९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

गुल्मीमा तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादन घट्यो

१९ मंसिर, तम्घास । गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।

गतवर्ष जिल्लामा छ हजार नौ सय ३८ दशमलव चार मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष छ हजार पाँच सय ७२ दशमलव चारमेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ । गतवर्ष गुल्मीमा रु २९ करोड ३७ लाख दुई हजार चार सय ७२ को सुन्तला उत्पादन भएकोमा रु १३ करोड २१ लाखको निर्यात भएको थियो भने यसवर्ष रु २३ करोड ७८ लाख ५५ हजार एक सय ५६ बराबरको सुन्ताला उत्पादन भएकोमा रु १२ करोड ८४ लाखको मात्रै निर्यात हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।

यसवर्ष सुन्तलाको औषत मूल्य प्रतिकेजी रु ४८ तोकिएको छ । फल पातलो लाग्नु, दाना सानो हुनु, फल झर्नु, किसान परम्परागत खेतीमा नै निर्भर हुनु जस्ता कारणले सुन्तला उत्पादन घटेको कार्यालयले जनाएको छ ।

सुन्तला बगैँचामा मलखादको प्रयोग नहुनु, सिँचाइको अभाव, बोटबिरुवाको काँटछाँटमा ध्यान नदिनु जस्ता कारणले उत्पादनमा कमी आएको कार्यालयको भनाइ छ । जिल्लामा कूल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय सुन्तलाका बिरुवा छन् । जसमध्ये ६० दशमलव छ प्रतिशत बोटमा फल लागेको छ ।

प्रकाशित मिति : 17:02