गभर्नर अधिकारीले बुझे ६१ लाख तलब र भत्ता, अन्यले कति लिए ?
१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा करिव ६१ लाख रुपैयाँ तलब तथा भत्ता बुझेका छन्। अधिकारीले १६ लाख ३२ हजार रुपैयाँ तलब, ४ लाख १४ हजार बैठक भत्ता र ४० लाख ४५ हजार ३३५ रुपैयाँ सेवा सुविधा बुझेका छन्। अघिल्लो वर्ष गभर्नरले ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए।
यस्तै डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले गत आवमा तलब १४ लाख ६० हजार ४०० रुपैयाँ बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ गरी कुल ५७ लाख २ हजार ३६१ रुपैयाँ लिएकी छिन् ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आवमा तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले तलब १२ लाख ६९ हजार ६००, बैठक भक्ता २ लाख ९६ हजार र अन्य सुविधा २६ लाख ३६ हजार ४१७ गरी ४२ लाख २ हजार १७ रुपैयाँ तलब तथा सेवासुविधा लिएका थिए ।
गभर्नर र डेपुटी गभर्नर बाहेक अन्य सञ्चालकले भने तलब पाउँदैनन। अन्य सञ्चालकले भने बैठक भत्ता र अन्य विशेष सुविधाबापत पैसा पाउछन्। राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले गत वर्ष १५ लाख ६४ हजार रुपैयाँ र शंकरप्रसाद आचार्यले १० लाख ८ हजार रुपैयाँ भत्ता लिएका छन्।
यसैगरी, रबिन्द्रप्रसाद पाण्डेले ३ लाख ४४ हजार रुपैयाँ र अर्थसचिवको रुपमा राष्ट्र बैंकको सञ्चालक बनेका कृष्णहरि पुस्करले २ लाख ५५ हजार रुपैयँँ भत्ता बुझेका छन्।
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १५:५१