२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

वित्तीय ठगीबाट आफू बचौं, अरूलाई पनि बचाऔंः राष्ट्र बैंक

१२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय ठगीका घटना बढ्न थालेको भन्दै यस्ता ठगीबाट बच्न आग्रह गरेको छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय सचेतना सम्बन्धित सन्देश जारी गर्दै नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ ।

‘ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिट्ठा परेका, पुरस्कार जितेका, धन सम्पत्ती वा सुन फेला परेको, अपुताली सम्पत्ती फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानामा सन्देश पठाइ सो रकम वा सम्पत्ती प्राप्त गर्न केही रकम पठाउनुपर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनि सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाइ ठगी गर्ने घटना संसारभर हुने गरेका छन् । यी सबै घटना वित्तीय ठगीका उदाहरण हुन् ।’ राष्ट्र बैंकले जारी गरेको सन्देश उल्लेख छ ।

‘यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगरौं’, राष्ट्र बैंकको सन्देशमा भनिएको छ । साथै, राष्ट्र बैंले वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : November 28, 2023 at 10:47 am