१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

जाजरकोट र रुकुमपश्चिमः जता गयो उतै भेटिन्छन् काम गरिरहेका एमालेका स्वयमसेवक (तस्विरसहित)

१० मंसिर, जाजरकोट । नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेल ४ मंसिर २०८० देखि जाजरकोट र रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा छन् । विपत व्यवस्थापन स्वयमसेवक विभाग प्रमुख समेत रहेका पौडेल भूकम्पपीडितहरुको पुनःस्थापना र पुनर्निर्माण सहयोगमा पार्टीको तर्फबाट केन्द्रीय संयोजकको जिम्मेवारी लिएर खटिएका छन् ।

पौडेल बिहान ६ बजेदेखि राति अबेरसम्म जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानहरुमा दौडिरहन्छन् । एमालेले परिचालन गरेको ११ सय स्वयमसेवकमध्ये जाजरकोटमा १२ समूह र रुकुमपश्चिममा १३ समूहले पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेका छन् । एउटा समूहमा ४० जना स्वयमसेवक परिचालित छन् ।

ती स्थानहरुमा आवश्यक निर्माण सामग्री, स्वयमसेवकहरुले कामको क्रममा लगाउने सुरक्षा सामग्री, कपडा लगायतको व्यवस्थापनको काममा पौडेल खटिरहेका छन् । नेता पौडेलले भने, ‘एउटा डाँडादेखि अर्को डाँडा जानुपर्छ, तर, परपर डाँडासम्म एमालेका स्वयमसेवकहरुले लाइनबद्ध काम गरिरहेको देख्दा बढो आनन्द र गर्व लाग्छ ।’

गत १७ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुमपश्चिमका अधिकांश नागरिक घर बाहिर छन् । उनीहरुको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न नेकपा (एमाले) केन्द्रीय टोलीले ४ मंसिरदेखि काम गरिरहेको छ ।
पौडेलका अनुसार एमाले टोलीले स्थानीय सरकार र स्थानीय पार्टी कमिटीले छनोट गरे अनुसार अति प्रभावित क्षेत्रमा भत्किएका घरहरुको भग्नावशेष हटाएर अस्थायी टहरा बनाउने काम गरिरहेका छन् ।

स्थानीय पत्रकार भरत शर्माले प्रभावित क्षेत्रमा एमालेका स्वयमसेवकहरुले धमाधम काम गरिरहेको बताए । उनले भने, ‘अहिले एमाले जति जाजरकोट र रुकुमपश्चिमतिर सबै आए जस्तो लाग्छ, जता गयो उतै ड्रेस लगाएर काम गरिरहेका एमाले स्वयमसेवकहरु भेटिन्छन् ।’
२५ जनाको समूहमा पनि अलग–अलग ‘टुकडी’ बनाएर स्वयमसेवकहरु खटिने गरेका छन् ।

जाजरकोट नै घर भएका एमाले केन्द्रीय सदस्य निरज आचार्यकाअनुसार एमालेले प्रभावित क्षेत्रमा खटाएका ११ सय स्वयमसेवक जाजरकोटको भेरी, नलगाड, कुशे र बारेकोट तथा रुकुमपश्चिमका आठबिसकोट, चौरजहारी र सानीभेरीका अति जोखिमका बस्तीहरुमा पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेका छन् ।

जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्तिसहितको स्वयंसेवकहरूको टोलीले प्रभावित क्षेत्रमा काम गरिरहेका छन् । संयोजक पौडेलका अनुसार शनिबारसम्ममा जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरेको छ ।

जिफण्टको स्वयंसेवक टोली जाजरकोटमा मंसिर १ गतेदेखि नै भग्नावशेष हटाउन र भत्केका घरभित्र पुरिएका सामान निकाली व्यवस्थापन गर्न खटिइरहेको छ । केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरूलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समूहमा विभाजन गरिएको छ । जसअनुसार भेरी नगरपालिका–३ माथिल्लो थाप्ले क्षेत्रमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा काम भइरहेको छ ।

त्यसैगरी पिपलडाँडा क्षेत्रमा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष क्षनारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुको समूह परिचालन भएकोे छ । पार्टी केन्द्रीय सदस्य तथा विपद व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेल, केन्द्रीय सदस्य निरज आचार्यलगायतको समूहले भेरी नगरपालिका १ रिम्नाबाट काम सुरु गरेको छ । मोहन बडुवा नेतृत्वको प्रदेश कमिटीको समूहले पनि रिम्नामै काम गरिरहेको छ ।

भेरी नगरपालिका– १ रावतगाउँ, पिपे, मैदे, चौर, रिम्ना, नलगाड नगरपालिका–१ को चिउरी, पालि, कल्पत वडा नं. ३ को कट्के, करुवा, चाउलेचौर, टट्टा वडा नं. ५ को ऐरारी, चारगाउँ वडा नं. ६ को थाप्ला, चारगाउँ वडा नं. ७ को चामखेतलगायतका क्षेत्रमा विभिन्न समूह खटिएका छन् ।

त्यसैगरी इपिसेन्टरको रूपमा रहेको बारेकोट गाउँपालिकाको सिर्पाचौर, लिम्सा, बयाला, काउली, रामिडाँडा, जिरीलगायतका ठाउँमा छुट्टाछुट्टै समूह बनाएर पहिलो चरणमा जोखिममा रहेका संरचनाको भग्नावशेष हटाउने काम भइरहेको संयोजक पौडेलले बताए । उनका अनुसार कुशे गाउँपलिका र जुनिचाँदे गाउँपालिकामा भोलिसम्ममा स्वयंसेवक पुग्नेछन् ।

नेकपा (एमाले) को गत कात्तिक २२ गते बसेको २५औं सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउन र अस्थायी घरटहरा बनाउन श्रमदान गर्ने निर्णय गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्पमा पनि नेकपा (एमाले) ले स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १३:५४