उन्नति सहकार्य लघुवित्तको एफपिओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?
६ मंसिर, काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको एफपीओ मंसिर ८ गते शुक्रबार बिहान बाँडफाँड हुनेछ । कम्पनीले गत कात्तिक २१ देखि कात्तिक २४ गतेसम्म एफपीओ निष्कासन गरेका थियो ।
लघुवित्तको एफपीओमा ११ लाख २२ हजार ९११ जना आवेदकहरुले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६९.७३ गुणा बढी आवेदन हो। माग भन्दा बढी आवेदन परेको कारण कम्पनीको एफपिओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १७ हजार ८४५ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । भने ११ लाख भन्दा बढीको हात खालि हुने भएको छ ।
कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो । लघुवित्तको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १४:५७












