सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, के के प्रस्ताव हुँदैछन् पारित ?
३ मंसिर, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९ औँ वार्षिक साधारण सभा डाकेको हो। उक्त सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसको अर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश पाउन सक्नेछन्।
प्रकाशित मिति : November 19, 2023 at 10:04 am









