१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

टिकटकमा प्रतिबन्ध लगाउने जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन सांसद थापाको माग

२७ कार्तिक, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले टिकटकमा प्रतिबन्ध लगाउने जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका छन । सोमबार विज्ञप्ति मार्फत सांसद थापाले प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन भन्दै ध्यानाकर्षण गराएका छन ।

थापाले विज्ञप्ति मार्फत भनेका छन, ‘टिकटक लगायतका वैकल्पिक संचारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक छ । तर यो कार्य मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानुन बनाएर मात्रै गर्नुपर्छ। विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानुन बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको बर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुन्छ।’

सांसद थापाले भनेका छन, ‘टिकटक(Tiktok) बन्द गर्ने मन्त्रिपरिषदको आजको निर्णय खेदजनक रहेको छ। यसबाट ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाई व्यवहारत: चरितार्थ गर्नखोजेको प्रष्ट भएको छ। संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ। नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ।’

सांसद थापाले टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन समेत सरकारसँग जाेडदार माग गरेका छन ।

यस्तो छ थापाको विज्ञप्ति

प्रेस विज्ञप्ति
टिकटक(Tiktok) बन्द गर्ने मन्त्रिपरिषदको आजको निर्णय खेदजनक रहेको छ।
यसबाट ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाई व्यवहारत: चरितार्थ गर्नखोजेको प्रष्ट भएको छ। संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ। नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ।
टिकटक लगायतका वैकल्पिक संचारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक छ । तर यो कार्य मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानुन बनाएर मात्रै गर्नुपर्छ।
विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानुन बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको बर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुन्छ।
टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जाेडदार माग गर्दछु।
म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु।
सूर्य थापा
संघीय प्रतिनिधिसभा सदस्य
प्युठान
२७ कात्तिक २०८० ‘’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १८:५५