२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै अाजबाट अनिश्चितकालका लागि परिवारको धर्ना

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलार्इ कानुनी कठघरमा उभ्याउन माग गर्दै उनको परिवारले अाजबाट अनिश्चितकालीन धर्ना सुरू गर्न लागेको छ ।

अाज बिहान ११ बजेबाट जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बस्न लागेको निर्मलाका बुबा यज्ञराज पन्तले बताएका छन । उनले पुरै परिवार धर्नामा बस्ने बताएका छन  ।  निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्न लागेका हुन् ।

साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताए । कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । ‘न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु,’ शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।’  महेन्द्रनगरको मदनचोकमा भेला भई र्‍यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार ०९:०८