१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रचारमुखी स्टन्टबाजी र सजावटी देखावटी अभिनयले पीडितलाई खाना, नाना र छाना बन्दैनन्ः सूर्य थापा

२२ कार्तिक, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले जाजरकोट भूकम्पका पीडितको पीडामा मलहम लगाउने भन्दा प्रचारमुखी स्टन्टबाजी बढी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । सामाजिक सञ्जाल मार्फत बुधबार बिहान उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन ।

२०७२ को भूकम्प र बाराको हावाहुरी पीडितका लागि सरकारले गरेको कामबाट सिकेर अघि बढ्नु जरूरी रहेको बताउँदै सांसद थापाले केही दिन यता के काम भन्दा जाजरकोट जामजस्तो फजुल खर्च गरेर पीडितको नाममा राज्यकोष स्वाहा पार्ने कार्य उचित नभएको बताएका छन ।

उनले भनेका छन, ‘जाजरकोट र पश्चिम रूकुममा भूकम्पको बहाना गरी अनावश्यक पर्यटन आवश्यक छैन। प्रभावित पालिकामा सर्वदलीय संयन्त्रको मार्गदर्शनमा उद्दार, राहत र पुन:स्थापना कार्य अघि बढाउन आवश्यक स्राेत र जनशक्ति सरकारले व्यवस्था मिलाउनु अत्यावश्यक छ। संघीय र प्रदेश सरकारका एकएक जना मन्त्री समन्वय मिलाउन त्यहाँ फोकल व्यक्तिका रूपमा तोकेर संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरू र जिल्ला प्रशासनको जवाफदेही सहकार्यमा पीडितकेन्द्रित कार्य गरिनुपर्छ। ओहदाकेन्द्रित सवारी आवश्यक छैन। प्रचारमुखी स्टन्टबाजी र सजावटी देखावटी अभिनयले पीडितलाई खाना, नाना र छाना बन्दैनन्। २०७२ को भूकम्प र बाराको हावाहुरी पीडितका लागि सरकारले गरेको कामबाट सिकेर अघि बढ्नु जरूरी छ। केही दिन यता के काम भन्दा जाजरकोट जामजस्तो फजुल खर्च गरेर पीडितको नाममा राज्यकोष स्वाहा पार्ने कार्य उचित छैन।’

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ०७:४६