१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

श्रीमती र ३ जना छाेराछाेरीकाे हत्या भएपछि विक्षिप्त भई भागेका दीपक आफन्तकाेमा भेटिए

१७ कात्तिक, मुगु । परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् ।

घरका चारजना सदस्यको सामूहिक हत्या भएकाे खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए । मानसिक रूपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो ।

दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए । दीपक बिहीबार राति ८ बजे छायानाथ रारा नगरपालिका–४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन् ।

उनी अहिले प्रहरी र नगर प्रहरीको निगरानीमा नगरप्रमुख विष्णुकुमार भामसँग रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा २८ वर्षीया श्रीमती श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा बोहरा र आठ महिने छोरा रहर बोहराको हत्या भएको थियो ।

यही कात्तिक १० गते हत्या भएको सूचना पाउनेबित्तिकै प्रहरीको टोलीले घरभित्र खोजी गर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रनाउ थापाका अनुसार कात्तिक १३ गते सोमबार चारै मृतकको शवपरीक्षण गर्ने कार्य सकिए पनि आफन्तले लास नबुझिदिँदा शवको दाहसंस्कार हुन सकेको छैन । जिल्ला अस्पतालको शवगृहमा शव राख्न चिस्यान नहुँदा शवहरु गल्दै गएका उनले जानकारी दिए ।

घटना भएकाे एकसाता बितेपनि हत्यारा पत्ता लाग्न सकेकाे छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १५:३५