३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसंघले पहलकदमी लिनुपर्छः राष्ट्रपति पौडेल

१२ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न शिष्टाचार भेट गरे ।भेटका अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरुलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा  रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 19:16