१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेको सुदुरपश्चिम अधिवेशनमा भिम रावललाई निषेध, वार्ता समितिको सुझाव शून्यमा

२१ असोज, काठमाडौँ । नेकपा एमालेको सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट धनगढीमा सुरू हुँदैछ । अधिवेशनको अध्ययक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा पार्टीका पूर्व उपाध्यक्ष समेत रहेका प्रभावशाली नेता डा भीमबहादुर रावललाई निषेध गरिएको छ ।

भूगोलमै परिभाषित कुनै जिम्मेवारी नभएका नेताहरूलाई अधिवेशनमा बोलाए पनि डा रावलाई भने निषेध गरिएको छ । रावललाई अधिवेशनमा निमन्त्रणा समेत नगरेको जानकारी पाएपछि उनी निकटकाहरूले सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना गरिरहेका छन ।

रावल निकटका एमाले नेता एकिन्द्र कुँवरले प्रदेश कमिटीका नेताहरूको यस्तो रवैयाले संगठनलाई थप क्षति हुने चेतावनी दिएका छन । कुँवरले हुकुमप्रमांगीबाट अमुक नेताले स्थापित गर्ने प्रद्धतिका विरूद्धमा कार्यकर्ताले लड्नुपर्ने बताएका छन । एमालेको चितवन महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको नाममा पार्टीभित्र रावललाई निषेध गरिदै आएको छ ।

यसअघि एमालेले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता समिति गठन गरेर रावलसँग छलफल गरेर पार्टी नेतृत्वलाई केही सुझाव समेत दिएको थियो । सोही सुझावको आधारमा रीमा विश्वकर्मा र एलिजा गौतमहरूसँगको भेटघाटको व्यस्तताकाबीच ओलीले एक पटक रावलसँग कुराकानी पनि गरेका थिए । त्यसपछि उनीहरूको बीचमा दोहोराएर कुनै संवाद भएको छैन । प्रदेश कमिटीले सुदुरपश्चिमकै अधिवेशनमा रावललाई निषेध गरेपछि वार्ता समितिले यसअघि पार्टी अध्यक्षलाई कार्यान्वयनका लागि दिएको सुझाव समेत शून्यमा झरेको छ ।

सामाजिक सञ्जाल मार्फत कुँवरले यस्तो उल्लेख गरेका छन ‘सुदूरपश्चिममा आज उद्घाटन हुने प्रथम प्रदेश अधिवेशनको उद्घाटनशत्रमा भूगोलमा परिभाषित जिम्मेवारी नभएका नेताहरूले निम्तो पाईरहॅदा यो प्रदेशबाट पार्टीको उपाध्यक्ष भईसक्नु भएका डा।भीम रावललाई निषेध गर्नेहरूले फेरि पनि सोच्न जरूरी छ । ब्यक्ति निषेध गर्दैमा बिचार निषेध हॅुदैन् । जनताको बहुदलीय जनवाद र बिधिपद्धतिको रक्षाकालागि डा. भीम रावलले चितवन महाधिवेशनमा उठाएको कदमको सकारात्मक परिणामहरू हालै सम्पन्न प्रदेश अधिवेशनहरूमा देखापरिरहेकाछन् । यसले नेकपा (एमाले)का नेता कार्यकर्ता कसैको हैकम र अहंकारको तुष्टिकरणकालागि पार्टी संगठनलाई कमजोर बनाउन तयार छैनन भन्ने देखिएको छ । र, सुदूरपश्चिम प्रदेशको आज उद्घाट्न हुने प्रथम अधिवेशनले समेत हुकुमप्रमांगीबाट अमुक नेताले नेतृत्वमा स्थापना गरिदिने पद्धतिकाबिरूद्ध कार्यकर्ताले नेता चुनेर अधिनायबादी अहंकारकाबिरूद्ध आफूलाई खडा गरेर प्रदेश अधिवेशनलाई पार्टी र संगठनको रक्षाकालागि जनताको बहुदलीय जनवादको उच्चतम प्रयोगको अवसरकोरूपमा प्रयोग गर्न सादर अनुरोध ।’

एमालेको सुदुरपश्चिम अधिवेशनबाट वर्तमान अध्यक्ष दामोदर भण्डारीले विदा लिँदै छन भने नयाँ नेतृत्वका लागि कमल तिमल्सिना, कृष्णप्रसाद जैशी र वचन सिंहको बीचमा प्रतिस्पर्धा हुने सम्भावना छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १०:३७