१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले उपत्यका प्रदेश अधिवेशनः गगन थापासँग लडेका चन्द्र रिजाल प्रेम पराजुलीसँग भिड्दै

२० असोज, काठमाडौँ । नेकपा एमालेको उपत्यका विशेष प्रदेशमा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रेम पराजुली र कार्यबाहक सचिव चन्द्र रिजाल भिड्ने भएका छन । उम्मेदवारी दर्ताको अन्तिम समयसम्ममा अध्यक्षमा दुई जनाकोमात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक घनेन्द्र श्रेष्ठले जानकारी दिए । उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल र चिरञ्जिवी उम्मेदवारी परेको छ ।

अध्यक्ष र सचिव बाहेक केही इलाकाको क्लस्टरमामात्र सर्वसम्म हुन बाँकी रहेको छ । अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजाललाई पार्टी नेतृत्वले पूर्ण रूपमा पाखा लगाउन खोजेपछि उनी अध्यक्षमा उम्मेदवार बनेका हुन । त्रिचन्द्र क्याम्पसको स्ववियुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग चुनाव लडेर आएका रिजाल धादिङका हुन  ।

पर्यटन व्यवसायी समेत रहेका रिजाल उपसचिव भए पनि सचिवको कार्यभार चलाउँदै आएका थिए । तर पार्टी नेतृत्वले रिजलको व्यवस्थापनको साटो सचिवमा मिलन धरेललाई अघि सारेपछि उनले अध्यक्षमा चुनाव लड्ने निर्णय गरेर उम्मेदवारी दिएका हुन । अर्थमन्त्रालयका पूर्व अधिकृत पराजुली कर्मचारीको राजनीति गरेर आएका व्यक्ति हुन ।

पराजुलीलाई प्रदेश इन्चार्ज समेत रहेकी महासचिव पत्नी सुजिता शाक्यको साथ र समर्थन रहेको छ । चुनाव हुँदा पेशागत र मजदुर दुबैमा पहिरो जाने हुँदा सकेसम्म सर्वसम्मत गराउन नेताहरू लागि परेका छन । दोहोरो उम्मेदवारीमा परेका तर केन्द्रीय नेतृत्वको नजरमा नपरेका उम्मेदवारहरूलाई पार्टी कार्यालयको चोटाकोठामा राखेर विभिन्न आवश्वास दिएर फकाउने प्रयास भैरहेको छ । निर्वाचन समितिले राति ११ बजेसम्म पनि सहमति नभए मतदान गराउने गरी तयारी गरिरहेको छ । सचिवमा उम्मेदवारी दिएका मिलन र चिरञ्जिवी भने दुबै चितवनका हुन ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १९:४७