शब्दविम्बमा सत्यमोहन’ का बहुआयाम
२० असोज, काठमाडौँ । ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो दिन सक्छ, अँध्यारालाई नाश गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन ।” हो, यस्तै चन्द्रमा हुनुहुन्थ्यो सत्यमोहन जोशी । वाङ्मय शताब्दी पुरुष जोशीले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र पुरातत्त्वका क्षेत्रमा पुर्ययाएको योगदान अतुलनीय छ ।
फलेको वृक्षको हाँगो निहुरिए झैँ उहाँमा कुनै घमण्ड थिएन । शालीन एवं मिलनसार व्यवहार र उच्चकोटीको विचार नै उनको विशेषता थियो । गाउँका सर्वसाधारणदेखि दरबारको उच्च वर्गका मानिससँग पनि उहाँको उत्तिकै पहुँच र सम्बन्ध थियो । उहाँ सर्वसाधारणको भाषा राम्ररी बुझ्नुहुन्थ्यो । देशको अवस्थिति र परिस्थितिलाई नजिकबाट नियाल्नुभएका बहुआयामिक व्यक्तित्व उहाँ नेपाललाई स्वर्गकै रूपमा व्याख्या गरेका छन् ।
विश्वका धेरै मुलुकको भ्रमण गरिसक्नुभएका र संसार चिन्नुभएका उहाँ नेपाल जस्तो सुन्दर र असीमित सम्भावनायुक्त देश विश्वमा कहीँ नभएको हामीलाई भेटमा सुनाए । उनले सरकारी सेवामा रहँदा विभिन्न जिम्मेवारी पूरा गर्दै देशका प्रायः सबै ठाउँमा पुग्नु मात्र भएन, त्यहाँको कला, साहित्य, संस्कृतिलाई टपक्क टिपेर मूल प्रवाहमा ल्याएका थिए ।
शताब्दीसम्म बाँचेर निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा लगाउने असाधारण शक्ति र सामथ्र्यका धनी जोशीको जीवनका विभिन्न पाटालाई सङ्गृहीत गरेर प्रकाशित ‘शब्दविम्बमा सत्यमोहन’ (भुँडी पुराण, २०७९) मा जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उनका जीवनका विविध आयाम मात्र समेटिएका छैनन्, नेपालको साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा ख्याति कमाएका धेरै लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकार आदिका विचार र धारणा पनि पढ्न पाइन्छ ।
कृतिमा जोशीको जीवन र जीवनशैली, सेवा र योगदान, कदर र सम्मान तथा आदर्शका बारेमा विभिन्न दृष्टि र कोणबाट बुझ्न सकिन्छ । “सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए”, पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सम्पादकीयमा लेखेको यस उक्तिले जोशीको जीवनको सङ्घर्ष र प्राप्त गरेको सफलतालाई छर्लङ्ग पारेको छ । कहिल्यै नथाकी, नहारी र नरोकिई आफ्ना कर्ममा जुटिरहने दरिलो आत्मबल र बलियो आत्मविश्वासका धनी जोशीको निधनपछि उहाँबारे लेखिएका समाचार, सम्पादकीय, श्रद्धाञ्जलि लेखरचना, आलेख, अन्तर्वार्ता आदिलाई एउटै पुस्तकमा समावेश गरेर पत्रकार ढुङ्गानाले पाठकलाई ठुलै गुन लगाए ।
तीन पटक मदन पुरस्कार पाउने जोशीका नेपाली र नेपाल भाषामा लिखित ६० भन्दा बढी पुस्तक प्रकाशित छन् । नेवार भएर पनि उनी नेपाल भाषा र नेवारी संस्कृतिमा मात्रै खुम्चिनुभएन । नेपाली भाषा, संस्कृति र साहित्यका विकासमा पनि उहाँको ठुलो योगदान गरेका थिए । सादा जीवन उच्च विचारका धनी उहाँमा कहिल्यै घमण्ड, अहं वा फुर्तीफार्ती देखिएन । रसिलो, भरिलो र झरिलो फलफूल जस्तै उहाँमा नम्रता र निहुरिने दुर्लभ गुण भरिपूर्ण थियो ।
जुनसुकै भूमिका र जिम्मेवारीमा रहँदा पनि उत्तिकै कुशलता प्रदर्शन गर्न सक्ने प्रबुद्ध व्यक्तित्व उहाँ लोक वाङ्मयका विविध विषयका इन्साइक्लोपेडिया नै हुनुहुन्थ्यो भन्ने तथ्य पुस्तकको अध्ययनबाट पाइन्छ । जोशीको समग्र जीवनवृत्तलाई एउटै पुस्तकमा समेट्ने जमर्को गर्ने सम्पादकको मेहनत र धैर्यको तारिफ गर्नैपर्छ । पुस्तकभित्र यति धेरै सामग्रीको सङ्कलन, संयोजन र सम्पादन एक्लैले गर्न सक्नु चानचुने कुरा होइन । पुस्तक पढेर पाठकले जोशीको जीवनबाट धेरै सिक्न, बुझ्न र जान्न सक्छन् ।
यस्ता बहुप्रतिभाशाली व्यक्तित्वका बारेमा लेखिएको पुस्तकको औचित्य कहिल्यै सकिँंदैन, बरु युगयुगसम्म सान्दर्भिक रहिरहन्छ । “न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा । बाधाहरू पन्छाए, परिस्थितिभन्दा माथि उठे र त जुरुक्क उठेको देखिए सत्यमोहन सबैका आँखामा । वास्तवमा सत्यमोहनले प्रत्येक सेकेन्ड र मिनेटलाई महत्त्व दिएर सदुपयोग गरेकाले नै महान् बने”, ढुङ्गाना लेख् छन् । पुस्तकमा उहाँका केही अप्रकाशित र निधनअघि लिइएका वा प्रकाशित सामग्री पनि समेटिएका छन् । यसरी उहाँका बारेमा बुझ्न, अध्ययन गर्न र ती लेख सामग्रीको दस्तावेजीकरण गरी संरक्षण गर्न सहज भएको छ ।
आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, परिशिष्टाङ्कका आलेख १७, समाचार १७, सम्पादकीय सात, अन्तर्वार्ता चार र कविता तीन समावेश छन् । पहिलो लेख खण्डमा जोशी स्वयंदेखि अन्य विभिन्न लेखकका लेखको सङ्कलन छ । जोशीलाई नजिकबाट चिनेका तथा उहाँसँग निरन्तर सम्पर्कमा रहेका विभिन्न लेखक, साहित्यकार र पत्रकारका अढाइ दर्जनभन्दा बढी लेख यस खण्डमा समावेश गरिएका छन् ।
दोस्रो खण्डमा उहाँको निधनपछि राष्ट्रिय दैनिकलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित सम्पादकीय समावेश गरिएका छन् । यी सम्पादकीयको अध्ययन गर्दा सञ्चारमाध्यमका नजरमा उहाँको उचाइ निकै माथि रहेको पाइन्छ । तेस्रो खण्डमा विभिन्न समयमा विभिन्न व्यक्तिले जोशीसँग लिएका तीन अन्तर्वार्ता समाविष्ट छन् जसमा व्यक्त विचार आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् । चौथो परिशिष्टाङ्क खण्डमा राष्ट्रकवि माधव घिमिरेलगायत प्रतिष्ठित लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकारद्वारा लेखिएका गहन र अत्यन्त जानकारीमूलक विचार र अभिव्यक्ति समेटिएका छन् ।
पाँचौंँ खण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार तथा छैटौंँ खण्डमा तीन कविका जोशीप्रति समर्पित कविताहरू छन् । अन्तिम खण्डमा जोशीका केही मुख्य कृति र तस्बिर समावेश गरिएका छन् । जोशीका जीवनका विभिन्न पाटालाई केलाउँदै पुस्तकमा समाविष्ट सामग्रीको अध्ययन गरिसकेपछि कुनै एक चिनारी मात्रैले उहाँलाई चिनाउन सम्भव हुँदैन । संस्कृतिदेखि साहित्य, कला, सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ ।
परिश्रमको फल मीठो हुन्छ भने झैँ अन्य कुनै नेपालीले नपाएको सम्मान र पदवी पाउन उहाँ सफल हुनुभएको छ । उहाँ त्यस्तो एक मात्रै नेपाली हुनुहुन्थ्यो जसको जीवित रहँदै तस्बिराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको थियो । सय, १००० र दुई हजार ५०० का सिक्काको एउटा पाटामा जोशीको तस्बिर छ भने अर्कापट्टि सगरमाथाको तस्बिर छ । पुस्तक बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मलाई उपयोगी बनेको छ ।
सम्पादक ढुङ्गानाले भने जस्तै समयले जोशीलाई बनाएको र जोशीले समयलाई बनाएको देखिन्छ । उहाँ नेपालको प्रतिबिम्ब नै थिए । उनले जीवनको हरेक क्षणलाई अर्थपूर्ण बनाउनुभयो, जसले गर्दा उहाँँलाई सगरमाथाको उचाइमा राख्न सकियो । सम्पादक आफँैं पनि अनुसन्धानमा रुचि राख्ने पत्रकार भएका नाताले पनि पुस्तकमा अनुसन्धानकर्तालाई उपयोगी हुने गरी सामग्री समावेश गर्नुभएको छ । चार सय २० पृष्ठको पुस्तकमा रहेका लेख, आलेख आदिले उहँँलाई युगौँँयुगसम्म स्मरणीय र अजम्बरी बनाउनेमा सम्पादकसमेत ढुक्क देखिनुहुन्छ ।
प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १२:२३