११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

बालविवाह न्यूनीकरण गर्न अक्षयकोष

१९ कात्तिक, म्याग्दी । बालविवाह र बाल हिंसा न्यूनीकरण तथा पिछडिएका महिला सशक्तिकरण गर्न स्थापना हुने अक्षयकोषका लागि बेलायतमा रु १२ लाख सहयोग सङ्कलन भएको छ ।

तिहार पर्वको अवसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले आइतबार लण्डनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममार्फत रु १२ लाख ९० हजार सङ्कलन भएको मोनाका उपाध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको गत वर्ष दरवाङमा भएको अधिवेशनले रु एक करोडको अक्षयकोष स्थापना गर्न घोषणा गरेको थियो ।

कात्तिक पहिलो हप्ता पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिन विभिन्न देशमा अभियान चलाउने निर्णय गरेको थियो ।

सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसासम्बन्धी समस्या न्यूनीकरण गर्न अक्षयकोषको रकम परिचालन गरिनेछ । रासस

प्रकाशित मिति : November 5, 2018 at 12:59 pm