हाथवे इन्भेष्टमेन्टको आईपीओ कहिले हुन्छ बाँडफाँड ? यस्तो छ तयारी
२९ भदाै, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ अर्काे साता बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीकाे आईपीओ आगामी साता बुधबारसम्म बाँडफाँड गर्ने तयारी भएकाे छ ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख २७ हजार २११ जनाले ३ करोड १३ लाख १६ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २१ हजार ३८७ जनाले २०/२० कित्ता दरले सेयर हाता पार्नेछन् । भने १२ लाख ३ हजार २३ जनाको हात खाली हुने देखिएको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियाे। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।
यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
प्रकाशित मिति : 13:59









