१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन


२७ भदौ, चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले भने, “सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानुपर्ने हो ।”

यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आउनुभएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गरे । उनले भने, “अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको छ । त्यससँगै समयमा उपचारका लागि निजी अस्पताल पठाउने गरिएको छ ।” स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको उनले गुनासो गरेका छन् । मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरेका थिए । सुवेदीले थपे, “बिमाबाट सिटामोलसमेत पाउन सकिएन मन्त्रीज्यू”, बाहिरी जिल्लामा बिमाबाट भएको उपचार र पाएको औषधि यहाँ बाहिर किन्नुपरेको उनको गुनासो थियो ।

गुल्मीबाट बिरामी लिएर आउनुभएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उनले मन्त्रीका सामु आक्रोश पोखे । बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो राख्दै उनले भने, “कर्मचारीले बिरामीका आफन्तलाई बुझ्ने भाषामा बुझाउने हो कि झर्कनेफर्कने हो ।” सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था आएको पीडा सुनाए । उनले भने, “गाउँलेको सहयोगमा उपचार गराइरहेकी छु, अब कति दुःख दिनु”, गाउँबाट सहयोग गरिरहने दिदीले काठमाडौँ जानुपर्ने भयो भने अब कसरी उपचार गर्ने उनको गुनासो थियो । अस्पतालमा बिजुलीदेखि खानेपानी, शौचालयसम्म र चमेना गृहसम्मको गुनासो मन्त्री बस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।

बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने बताए । मन्त्री बस्नेतले भने, “योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ ।” अस्पताल प्रशासनलाई निर्देशन दिँदै उनले थपे, “अस्पताल आएका बिरामी को कहाँ कति सिफारिस भए, के कारणले भए मलाई मासिक विवरण पठाउनुहोला ।” सरकारी अस्पतालमा आएका बिरामीलाई उपचारका लागि निजीमा पठाउने छुट कसैलाई नभएको उनको भनाइ थियो । “कान्ति बाल अस्पतालमा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भयो । त्यसको सजाय सम्बन्धित चिकित्सकले पाउनेछन् ।

त्यसैगरी यहाँ पनि कारबाही हुन्छ”, अस्पताल प्रशासनलाई निर्देशन दिँदै मन्त्री बस्नेतले भने– “सहजै हुने सुधार १५ दिनभित्र गर्नु र अन्यको प्रक्रिया अघि बढाउनु । बिरामीले दुःख पाउनु भएन ।” तीन महिनाभित्र नतिजा दिने गरी काम गर्न उहाँले अस्पतालका चिकित्सक कर्मचारीलाई निर्देशनसमेत दिए । उनले भने, “नतिजा आउने गरी काम गर्नुस् । आवश्यक सहयोग म गर्छु ।” हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन आफू लागिपरेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले आठ सयभन्दा बढी चिकित्सकको काज सरुवा बदर गरी गाउँ पठाइएको जानकारी दिए । अहिले सरकारले तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरेको र यसलाई अझै प्रभावकारीरूपमा अघि बढाउने उनले बताए ।

पैसाको अभावमा उपचार गर्न नपाएको गुनासो गरेकी सर्लाहीकी महिलालाई मन्त्री बस्नेतले रु पाँच हजार नगद सहयोग गर्दै निःशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए । मन्त्री बस्नेतका साथमा रहनुभएका बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भनसुनका आधारमा उपचार नभई सबैलाई एउटै तवरले व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिए । मानवीयतासँग जोडिएको कुरामा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले अस्पताललाई क्षति हुने गरी काम गर्न छुट कसैलाई छैन भने । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा अहिले दैनिक एक हजार एक सय १५ सम्म बिरामी बहिरङ्ग सेवामा आउने गरेको जानकारी दिए ।

जसमध्ये दुई सय २६ बिरामी नयाँ र अन्य नियमित जाँचका लागि आउने गरेको उनले बताए । अस्पतालमा अहिले चार सय ५० शय्या सञ्चालनमा रहेको बताउँदै उनले यहाँको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजानेतर्फ प्रशासन लागिपरेको जानकारी दिए । उनले भन्नुभयो, “अस्पतालमा आएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा यही दिने गरी हामीले काम अघि बढाएका छौँ ।” सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले लामो समयदेखि अस्पतालमा कार्यकारी निर्देशक नहुँदा झेल्नुपरेको समस्या र त्यसबाट उत्पन्न विभिन्न बाधा विस्तारै हल हुँदै गएको बताए । अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाइले औषधि खरिददेखि अन्य काम रोकिएको भन्दै उनले अब यी काम छिट्टै पूरा हुने बताए । चार महिना रिक्त रहेपछि गत सातामात्रै अस्पतालले कार्यकारी निर्देशक पाएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०९:३५