६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’

२६ भदौ, काठमाडौँ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए । पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । “सीमित स्रोत र साधनको बीच पर्यटक प्रहरीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गरेको छ”, उनले भने ।

महानिर्देशक लुइँटेलले पछिल्लो समय पर्यटन विभागले पर्यटक प्रहरीलाई दक्ष बनाउनका लागि विभिन्न भाषाको तालिम प्रदान गर्दै आइरहेको बताए । पर्यटक प्रहरी नेपाल प्रहरीको काम गर्ने सक्षम ‘युनिट’ बनेको उनको भनाइ थियो । पर्यटक प्रहरी कार्यालयबाट सरुवा भएर जान लाग्नुभएका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले झण्डै पाँच दशक इतिहास बोकेको पर्यटक प्रहरी जुन हिसाबले अगाडि बढ्नुपर्ने हो त्यो हुन नसेकेको बताए । उनले पर्यटक प्रहरीलाई नयाँ बन्दै गरेको पर्यटन ऐनमा समावेश गर्नका लागि मन्त्रालयलाई आवश्यक राय सुझाव दिइसकिएको बताए ।

पर्यटक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले पर्यटकको सङ्कटको साथी पर्यटक प्रहरी बन्ने बताए । उनले पर्यटकलाई नेपाल भ्रमणका क्रममा देखिएका समस्या समाधान गर्न पर्यटक प्रहरी सधैँ तत्पर रहेको बताए । पैतालीस वर्ष पहिले स्थापना भएको पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १५ जिल्लामा २९ वटा इकाइमार्फत पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । पर्यटक प्रहरी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागमार्फत सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १२:०३