२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नक्कली प्रमाणपत्र राखेर पौडेललाई स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष बनाउने प्रयास असफल


-प्रतिमा मुडभरी

२५ भदौ, काठमाडौँ । नक्कली प्रमाणपत्र राखेर स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष बनाउने स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवको प्रयास असफल भएको छ । करिब डेढ महिना अघि नक्कली प्रमाणपत्रसहित राखेर नियुक्तिका लागि भनेर मन्त्रिपरिषद्मा पठाइएको प्रस्तावमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शैक्षिक योग्यता यकिन गरी पठाउने भन्दै प्रस्ताव फिर्ता गरिदिएको छ ।

गत साउन १५ गते स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्तिका लागि भन्दै स्वास्थ्य सेवाका ल्याब टेक्निसियन निरीक्षक धनप्रसाद पौडेलको नक्कली प्रमाणपत्रसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको थियो । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पौडेलको प्रमाणपत्रमा हस्ताक्षर गरेर पठाएका थिए भने नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयमा मन्त्री मोहनबहादुर बस्नेतले सदर गरेका थिए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्रिपरिषद्को बैठक हेर्ने सचिवले निर्णय गरेर पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र यकिन गरेर पेश गर्न आदेश दिइएको छ । योसँगै नक्कली प्रमाणपत्र राखेर पौडेललाई अध्यक्ष बनाउने स्वास्थ्य मन्त्रालयको प्रशास करिब असफल भएको छ ।

सचिवले किन गरे हस्ताक्षर ?  

स्वास्थ्य मन्त्रालयका सचिव डा पोखरेलले परिषद्को अध्यक्ष बनाउने प्रयोजनका लागि पौडेलको प्रमाणपत्रमा कुन दबाब वा प्रभावमा हस्ताक्षर गरे वा केही नबुझी आँखा चिम्लिएर हस्ताक्षर गरे यो विषय बिस्तारै सार्वजनिक पक्कै हुनेनै छ । स्वास्थ्य व्यवसायी परिषद्सँग सम्बन्धित प्रमाणपत्र र त्यसको परिषद् दर्ता सम्बन्धित निकायबाट किन मागिएन भन्ने प्रश्न ज्वलन्त बनेको छ । यसैमा अर्को गम्भीर प्रश्न के छ भने नियुक्तिका लागि आधारभूत योग्यताको रूपमा व्याख्या गरिएको एमपिएचको परिषद् दर्ता प्रमाणपत्र सम्बन्धित व्यक्तिसँग किन मागिएन ?  के यो सबै राजनीतिक दबाबमैमात्र भएको हो त ? पाैडेलले परिषद्मा दर्ता नभएको प्रमाणपत्र बुझाए पनि त्यसको रेकर्ड मन्त्रालयले किन मागेन जस्ता विबिधि प्रश्नहरू उठेका छन ।

हिजको दिनमा हचुवामा पौडेलको प्रमाणपत्रमा हस्ताक्षर गरेर पठाएका सचिव डा पोखरेलले फेरि हस्ताक्षर गरेर पठाउन कठिन रहेको मन्त्रालय स्रोतले बताएको छ । पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भन्ने विभिन्न तथ्यहरू यसअघि दैनिकीले नै सार्वजिनक गरेको थियो । दैनिकीमा समाचार प्रकाशित भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल र राष्ट्रिय सतर्कता केन्द्र लगायतमा पौडेलको प्रमाणपत्र छानविन गर्न भन्दै उजुरी परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रेकर्डमा रहेको पाैडेलको व्यक्तिगत विवरण जाहाँ उनको अध्ययन बिदा र शैक्षिक योग्यता थपको विषयमा कुनै बिबरण थपिएको छैन ।

स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुन सोही परिषद्मा दर्ता भएको एमपिएचको प्रमाणपत्र चाहिनेमा पौडेलले नक्कली प्रमाणपत्र बनाएर परिषद्मा दर्ता नगरी सीधै स्वास्थ्य मन्त्रालय मार्फत मन्त्रिपरिद्मा पठाएका थिए । जुन कुरा दैनिकीले सार्वजनिक गरेको थियो । पौडेलको किनिएको प्रमाणपत्र र कीर्ते गरेको दर्ता किताबसहितको बिबरण मिलाएर गत साउन १५ गतेको मन्त्रिपरिषद् बैठकमा पौडेलको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव पठाएको पाइएको थियो ।

पाैडेलको शैक्षिक प्रमाणपत्र नै नक्कली भएका कारण नियुक्तिको विषय थप पेचिलो भएको र नियमनकारी निकायको नेतृत्वमा नक्कली प्रमाणपत्रधारीलाई पठाउन नहुने भन्दै नेपाली कांग्रेस निकटकै कर्मचारीहरूले मन्त्रीदेखि कांग्रेसको नेतृत्वसम्मको ध्यानाकर्षण गराएका छन । यद्यपी स्वास्थ्यमन्त्री यस विषयमा सुन्न चाहेका थिएनन् । तर मन्त्रिपरिषद्बाट शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको सूचनापछि पुन यकिन गरेर पठाउन भनेपछि मन्त्रालयले प्रमाणपत्र सक्कल भनेर पठाउने ठाउँ देखिदैन ।

न अध्ययन बिदा स्वीकृति र न एमपिएचको सक्कली प्रमाणपत्र 

पाैडेलका कारण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अझ बढी मन्त्री र सचिव समस्यामा पर्ने भएका छन । एमपिएच पढ्नका लागि अनिवार्य रूपमा अध्ययन बिदा लिएको हुनुपर्ने थियो । तर पाैडेलले सीधै प्रमाणपत्र खरिद गरेका कारण अध्ययन बिदा स्वीकृतिको चक्कर चलाएनन् । जसको कारण उनको किनिएको प्रमाणपत्र स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नै भएन ।

स्वास्थ्य सेवा ऐन २०५३ अनुसार स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययन बिदा स्वीकृत नगरी जनस्वास्थ्य वा अन्य कुनै पनि प्राविधिक विषय अध्ययन गर्न सक्दैनन् । त्यसैका लागि सरकारले अध्ययन विदाको सुबिधा दिएको छ । झन विदेशमा रहेका शिक्षण संस्थामा अध्ययन गर्नका लागि अनिवार्य रूपमा बिदा स्वीकृत गराएर पढ्नुपर्ने व्यवस्था रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको समकक्षताको प्रमाणपत्र दिने शाखाका अनुसार जनस्वास्थ्य विषयको स्नातकोत्तर गर्दा कम्तिमा पनि ९० प्रतिशत हाजिर अनिवार्य चाहिन्छ । यस विषयमा अहिलेसम्म अनलाइनमा पढ्ने व्यवस्था समेत छैन । तर पौडेलले सरकारी सेवामा बाहल रहेकै अवस्थामा बंगालादेशबाट प्रमाणपत्र ल्याएपछि गम्भीर प्रश्न उठेको छ । अर्को गम्भीर विषय त के छ भने अहिले पौडेल अध्यक्ष हुन खोजेको परिषद्ले नै उनको उक्त शैक्षिक योग्यताको दर्ता अस्वीकार गरेको छ । जसका कारण पौडेलले नियामक मानिने उक्त परिषद्को अध्यक्षमै उनले आँखा गाडी रहेका छन ।

कसरी प्रमाणित हुन्छ पाैडेलको एमपिचको अध्ययन र परिषद्द दर्ता ?

नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ को परिच्छेद २ मा स्वास्थ्य शिक्षाको प्राविधिक विषयमा विभिन्न तहको उपाधि प्राप्त गरेकाहरूको नाम दर्ता सम्बन्धी व्यवस्था गरेको छ । नियमावलीको दफा ९ मा छुट्टै दर्ता किताब सम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्थाको नियम १ मा स्वास्थ्य व्यवसायीको नाम दर्ताको प्रयोजनको लागि रजिष्ट्रारले अनुसूची २ बमोजिमको ढाँचामा दर्ता किताब राख्नुपर्ने छ भन्ने उल्लेख गरिएको छ । साथै नियम २ मा उपनियम १ बमोजिम दर्ता किताब राख्दा स्वास्थ्य व्यवसायीहरूको विषयगत तथा तहगत आधारमा छुट्टाछुट्टै दर्ता किताब राख्नुपर्ने प्रष्ट व्यवस्था रहेको छ ।

तर पाैडेलले ल्याब टेक्निसियनको दर्ता किताबमै एडेड भनेर कीर्ते गरी एमपिच उल्लेख गरेका छन । स्वास्थय व्यवसायी परिषद् स्रोतका अनुसार जुन दण्डनीय अपराध हो । यस विषयमा दैनिकीले धनप्रसाद पौडेलसँग जिज्ञासा राख्दा उनले आफूसँगै प्रतिस्पर्धामा लागेर पछि परेकाहरूले यस्तो आरोप लगाएको बताएका थिए । उनले आफूले एमपिएचकै दर्ता प्रमाणपत्रको साउन दोस्रो साता नविकरण गरेको दाबी गरेका थिए तर दैनिकीले परिषद्मा बुझ्दा उनको एमपिएचको कुनै दर्ता किताब नै भेट्टिएन ।

परिषद्को अध्यक्ष हुन नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ अनुसार स्वास्थ्य व्यवसायसँग सम्बन्धित विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तिमा ५ वर्ष स्वास्थ्य व्यवसायमा लागेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति हुने भन्ने उल्लेख गरिएको छ ।

यस्तै ऐनको दफा २ को उपदफा ‘घ’मा स्वास्थ्य व्यवसाय भन्नाले बिरामीको रोगको उपचार, निदान, रोकथाम र स्वास्थ्य व्यवसायसम्बन्धी कुनै कार्यलाई जनाउँदछ भन्ने उल्लेख गरिएको छ । त्यस्तै उपदफा ‘ङ’ मा स्वास्थ्य व्यवसायी भन्नेले तोकिएको न्यूनतम योग्यता प्राप्त गरी स्वास्थ्य व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । त्यस्तै सोही ऐनको दफा २ को उपदफा ‘छ’ मा दर्तावाला स्वाथ्य व्यवसायी भन्नाले दर्ता कितबमा नाम दर्ता भएका स्वास्थ्य व्यवसायी सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । अहिले अध्यक्षमा नियुक्तिका लागि तयार गरिएका धनप्रसाद पौडेलको ऐनमा उल्लेखित कुनै पनि मापदण्ड नपुग्ने मन्त्रालय स्रोतले जनाएको छ ।

यसरी हेर्दा पाैडेलको एमपिएचको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणिकरण  र परिषद् दर्ता असम्भव जस्तै देखिन्छ । राजनीतिक दबाबमा वा अन्य प्रभावमा प्रमाणित भए बाहेक अन्य अवस्थामा एमपिएचको प्रमाणपत्र सक्कली बनाउने र परिषद् दर्ता गर्ने असम्भवप्रायः देखिएको छ ।

नक्कलीलाई सक्कली बनाउन कीर्ते 

पौडेलले बंगलादेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तर तह (एमपिएच)को प्रमाणपत्र बंगालादेशको अतिश दीपांकर युनिभर्सिटी ढाकामा अध्ययन नै नगरी खरिद गरेको बुझिन्छ । पौडेल सरकारी सेवामै रहेको अबधिमा बंगालदेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तरको प्रमाणपत्र ल्याएका थिए । उनले अहिलेसम्म अध्ययन बिदा पनि नलिएका कारण उनको बंगलादेशको प्रमाणत्र किनिएकै भन्ने दाबीमा बल पुगेको छ । नक्कली भएकै कारण पाैडेलको उक्त प्रमाणपत्र अहिलेसम्म स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुन सकेको छैन ।

उनले जुन समयको शैक्षिक प्रमाणपत्र तयार गरेका छन त्यस समयमा उनी नेपाल सरकारको ल्याब टेक्निसियन निरीक्षककै रूपमा कार्यरत रहेका थिए । उनको ट्रभल हिस्ट्रीमा पनि उनी त्यस समय बंगलादेश नगएको पाइएको छ । जनस्वास्थ्य विषयको स्नातकोत्तर गर्दा कम्तिमा पनि ९० प्रतिशत हाजिर अनिवार्य हुनुपर्छ । तर उनी नेपालमै बसेर बंगलादेशको विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरेका छन । उनको यो प्रमाणपत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेजस्तै किनिएको श्रेणीमा परेको अनुमान गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

बंगलादेशमा पढ्ने ९० प्रतिशत डाक्टरले सर्टिफिकेट किनेर ल्याउँछनः गगन थापा (भिडियोसहित)

पाैडेलले पदको दुरूपयोग गरेर यसअघि अाफ्नै प्रमाणपत्रमा कीर्ते गरेको समेत यसअघि दैनिकीले खुलासा गरेको थियो । उनले पदको दुरूपयोग गरेर ल्याब टेक्निसियनको दर्ता किताबमै एमपिएचको समेत दर्ता भनेर उल्लेख गरेका छन । जुन कानुन अनुसार कीर्ते हो । दर्ता किताबमा एक पटक निर्णय गरेर राखेको विषयमा केरमेट गर्ने वा त्यसमा संशोधन गरेर थपघट गर्नु कानुन अनुसार दण्डनीय हुन्छ । तर पौडेलले सोही दण्डनीय काम गरेका छन । र ल्याब टेक्निसियनको दर्ता किताबमै एमपिएच एडेड भनेर नियममै नभएको काम गरेर कानुनको धज्जी उडाएका छन ।

जनस्वास्थ्य विषयको स्नातकोत्तर तह (एमपिएच)को प्रमाणपत्र बंगालादेशको अतिश दीपांकर युनिभर्सिटी ढाकामा अध्ययन नै नगरी खरिद गरेको भन्दै उजुरी परेको पाैडेलको प्रमाणपत्र ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य व्यवसायी परिषदमा ऐन विपरित अयोग्यलाई नियुक्ति दिने तयारी

बंगलादेशमा किनिएको प्रमाणपत्र देखाएर स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुने पौडेलको प्रयास

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १०:३८