६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

स्वास्थ्य व्यवसायी परिषदमा ऐन विपरित अयोग्यलाई नियुक्ति दिने तयारी


-प्रतिमा मुडभरी 

१६ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन विपरित अध्यक्षको नियुक्ति गर्ने तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा मन्त्रालयले ऐन अनुसार अयोग्य रहेका नेपाली कांग्रेस निकटका ल्याब टेक्निसियन निरीक्षक धनप्रसाद पौडेललाई अध्यक्षमा नियुक्ति गर्ने प्रक्रिया अघि बढेको हो ।

मन्त्रालय स्रोतले दैनिकीलाई दिएको जानकारी अनुसार मन्त्री बस्नेतले मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव तयार गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन । परिषद्को अध्यक्षका लागि चाहिने योग्यता नपुग्ने भए पनि पौडेलकै नाममा अघि बढाउन निर्देशन आएको एक कर्मचारीले बताए । नियुक्तिका लागि अहिले अनलाइन प्रस्ताव तयार भैरहेको ती कर्मचारीले बताए । उनले दैनिकीसँग भने ‘सम्भवतः आजै ५ बजेको मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव निर्णयका लागि पेश हुनेछ’ ।

परिषद्को अध्यक्ष हुन नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ अनुसार स्वास्थ्य व्यवसायसँग सम्बन्धित विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तिमा ५ वर्ष स्वास्थ्य व्यवसायमा लागेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति हुने भन्ने उल्लेख गरिएको छ ।

यस्तै ऐनको दफा २ को उपदफा ‘घ’मा स्वास्थ्य व्यवसाय भन्नाले बिरामीको रोगको उपचार, निदान, रोकथाम र स्वास्थ्य व्यवसायसम्बन्धी कुनै कार्यलाई जनाउँदछ भन्ने उल्लेख गरिएको छ । त्यस्तै उपदफा ‘ङ’ मा स्वास्थ्य व्यवसायी भन्नेले तोकिएको न्यूनतम योग्यता प्राप्त गरी स्वास्थ्य व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । त्यस्तै सोही ऐनको दफा २ को उपदफा ‘छ’ मा दर्तावाला स्वाथ्य व्यवसायी भन्नाले दर्ता कितबमा नाम दर्ता भएका स्वास्थ्य व्यवसायी सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ ।

अहिले मन्त्रीको निर्देशनमा अध्यक्षमा नियुक्तिका लागि तयार गरिएका धनप्रसाद पौडेलको ऐनमा उल्लेखित कुनै पनि मापदण्ड नपुग्ने मन्त्रालय स्रोतले जनाएको छ । पौडेल यसअघि स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टार भैसकेका व्यक्ति हुन ।

पौडेल रजिष्टारको पदमा बाहल रहेकै अबधिमा बंगालदेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तरको प्रमाणपत्र ल्याएका थिए । जुन अहिलेसम्म सोही परिषद्मा दर्ता हुन सकेको छैन । उनका निकटहरूले पढेर भन्दा पनि उक्त प्रमाणपत्र किनेर ल्याएको भन्दै आलोचना गरिरहेका छन । यस विषयमा दैनिकीले धनप्रसाद पौडेलसँग जिज्ञासा राख्दा उनले आफूसँगै प्रतिस्पर्धामा लागेर पछि परेकाहरूले यस्तो आरोप लगाएको बताए । उनले आफूले एमपिएचकै दर्ता प्रमाणपत्रको हिजैमात्र नविकरण गरेको दाबी गरे ।

पौडेलले दैनिकीसँग भने, ‘म त्यस्तो चानचुने मान्छे होइन मेरो यो मन्त्रिपरिषद्बाटै हुने चौँथो नियुक्तिो हो । शेरबहादुर दाइ पाँच पटक प्रधानमन्त्री हुनु भो म चौँथो पटक मन्त्रिपरिषद्बाटै नियुक्ति लिँदैछु । मैले रजिष्टारको नियुक्ति सकिएपछि बंगलादेशबाट प्रमाणपत्र ल्याएको हुँ ।’

दैनिकीले स्वास्थ्य व्यवसायी परिषद्मा धनप्रसाद पौडेलको नाममा एमपिएचको दर्ता प्रमाणपत्र नविकरण भएको छ भनेर खोजी गर्दा त्यहाँका एक कर्मचारीले नाम नबताउने शर्तमा भने, ‘उहाँको एमपिएचमा कुनै दर्ता छैन तर ल्याब टेक्नसियनमा क्वालिफिकेसन एडेड गरिएको छ जुन ऐन विपरित रहेको छ ।’

त्रिभुवन विश्वविद्यालयको समकक्षताको प्रमाणपत्र दिने शाखा स्रोतका अनुसार जनस्वास्थ्य विषयको स्नातकोत्तर गर्दा कम्तिमा पनि ९० प्रतिशत हाजिर हुनुपर्छ । यस विषयमा अहिलेसम्म अनलाइनमा पढ्ने व्यवस्था समेत छैन । तर पौडेलले रजिष्टारमा बाहल रहेकै अवस्थामा बंगालादेशबाट प्रमाणपत्र ल्याएपछि प्रश्न उठेको हो । उक्त प्रमाणत्र बैधानिकतामा प्रश्न उठेपछि अहिले पौडेल अध्यक्ष हुन खोजेको परिषद्ले नै दर्ता अस्वीकार गरेको थियो ।

पौडेल ल्याब  टेक्निसियनको रूपमा परिषद्मा दर्ता रहेको भए पनि एमपिएचको रूपमा दर्ता हुन सकेका छैनन् । ऐनमा छुट्टा छुट्टै तहको छुट्टा छुट्टै दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । परिषद्को अध्यक्षका लागि नेपाली कांग्रेस निकटकै रामजी घिमिरे, दीपकप्रसाद भट्ट, हरीप्रसाद लम्सल, सुबोध शर्मा, सूजन श्रेष्ठ  लगायत पनि दौडमा रहेका थिए । यसैमा गठबन्धनको सरकार भएका कारण नेकपा एकीकृत समाजवादी र माओवादी निकटका केही पनि अध्यक्षको दौडमा लागेका थिए ।

ऐनमा रहेको व्यवस्था तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ०९:४३