२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

बंगलादेशमा किनिएको प्रमाणपत्र देखाएर स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुने पौडेलको प्रयास


-प्रतिमा मुडभरी

५ भदौ, काठमाडौँ । नेपाल सरकार स्वास्थ्य सेवाका ल्याब टेक्निसियन निरीक्षक धनप्रसाद पौडेलले बंगलादेशमा किनिएको प्रमाणपत्र देखाएर स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुने प्रयास गरेको खुलासा भएको छ । पौडेलको किनिएको प्रमाणपत्र र कीर्ते गरेको दर्ता किताबसहितको बिबरण मिलाएर गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकमा पौडेलको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव पठाएको पाइएको छ ।

नेपाल प्रहरी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उनको शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा परेको उजुरी र त्यसमा भैरहेको छानविनका कारण पौडेको नियुक्ति तीन सातादेखि मन्त्रिपरिषदमै अब्जरभेसनमा रहेको स्वास्थ्य मन्त्रालयको एक सहसचिवले दैनिकीसँग बताए । उनले शैक्षिक प्रमाणपत्र नै नक्कली भएका कारण नियुक्तिको विषय थप पेचिलो भएको र नियमनकारी निकायको नेतृत्वमा नक्कली प्रमाणपत्रधारीलाई पठाउन नहुने भन्दै नेपाली कांग्रेस निकटकै कर्मचारीहरूले मन्त्रीदेखि कांग्रेसको नेतृत्वसम्मको ध्यानाकर्षण गराएको जानकारीमा आएको बताए ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा साउन १६ गते नै बंगलादेशबाट शैक्षिक योग्यताको प्रमाणपत्र किनेको आरोप लागेका पौडेललाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त गर्ने प्रस्ताव आएको भए पनि उनको विवादित पृष्ठभूमि र अध्यक्षका लागि योग्यता नै नपुगेका कारण नियुक्ति रोकिएको मन्त्रीपरिषद् स्रोतले बतायो ।

जनस्वास्थ्य विषयको स्नातकोत्तर तह (एमपिएच)को प्रमाणपत्र बंगालादेशको अतिश दीपांकर युनिभर्सिटी ढाकामा अध्ययन नै नगरी खरिद गरेको भन्दै उजुरी परेको पाैडेलको प्रमाणपत्र ।

पौडेलले बंगलादेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तर तह (एमपिएच)को प्रमाणपत्र बंगालादेशको अतिश दीपांकर युनिभर्सिटी ढाकामा अध्ययन नै नगरी खरिद गरेको भन्दै उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ।

पौडेल सरकारी सेवामै रहेको अबधिमा बंगालदेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तरको प्रमाणपत्र ल्याएका थिए । उनले अहिलेसम्म अध्ययन बिदा पनि नलिएका कारण उनको बंगलादेशको प्रमाणत्र किनिएकै दाबी उनकै निकटका सहकर्मीहरूले गरेका छन । पाैडेलको उक्त प्रमाणपत्र नक्कली रहेकै कारण अहिलेसम्म स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुन सकेको छैन । उनका निकटहरूले पढेर भन्दा पनि उक्त प्रमाणपत्र किनेर ल्याएको दाबी गरेका छन।

उनले जुन समयको शैक्षिक प्रमाणपत्र तयार गरेका छन त्यस समयमा उनी नेपाल सरकारको ल्याब टेक्निसियन निरीक्षककै रूपमा कार्यरत रहेका थिए । उनको ट्रभल हिस्ट्रीमा पनि उनी त्यस समय बंगलादेश नगएको पाइएको छ । जनस्वास्थ्य विषयको स्नातकोत्तर गर्दा कम्तिमा पनि ९० प्रतिशत हाजिर अनिवार्य हुनुपर्छ । तर उनी नेपालमै बसेर बंगलादेशको विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरेका छन । उनको यो प्रमाणपत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेजस्तै किनिएको श्रेणीमा परेको अनुमान गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

बंगलादेशमा पढ्ने ९० प्रतिशत डाक्टरले सर्टिफिकेट किनेर ल्याउँछनः गगन थापा (भिडियोसहित)

स्वास्थ्य सेवा ऐन २०५३ अनुसार स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययन बिदा स्वीकृत नगरी जनस्वास्थ्य वा अन्य कुनै पनि प्राविधिक विषय अध्ययन गर्न सक्दैनन् । त्यसैका लागि सरकारले अध्ययन विदाको सुबिधा दिएको छ । झन विदेशमा रहेका शिक्षण संस्थामा अध्ययन गर्नका लागि अनिवार्य रूपमा बिदा स्वीकृत गराएर पढ्नुपर्ने व्यवस्था रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको समकक्षताको प्रमाणपत्र दिने शाखाका अनुसार जनस्वास्थ्य विषयको स्नातकोत्तर गर्दा कम्तिमा पनि ९० प्रतिशत हाजिर अनिवार्य चाहिन्छ । यस विषयमा अहिलेसम्म अनलाइनमा पढ्ने व्यवस्था समेत छैन । तर पौडेलले सरकारी सेवामा बाहल रहेकै अवस्थामा बंगालादेशबाट प्रमाणपत्र ल्याएपछि गम्भीर प्रश्न उठेको छ । अर्को गम्भीर विषय त के छ भने अहिले पौडेल अध्यक्ष हुन खोजेको परिषद्ले नै उनको उक्त शैक्षिक योग्यताको दर्ता अस्वीकार गरेको छ । जसका कारण पौडेलले नियामक मानिने उक्त परिषद्को अध्यक्षमै उनले आँखा गाडी रहेका छन ।

पाैडेलले पदको दुरूपयोग गरेर कीर्ते गरेको समेत खुलासा भएको छ । उनले पदको दुरूपयोग गरेर ल्याब टेक्निसियनको दर्ता किताबमै एमपिएचको समेत दर्ता भनेर उल्लेख गरेका छन । जुन कानुन अनुसार कीर्ते हो । दर्ता किताबमा एक पटक निर्णय गरेर राखेको विषयमा केरमेट गर्ने वा त्यसमा संशोधन गरेर थपघट गर्नु कानुन अनुसार दण्डनीय हुन्छ । तर पौडेलले सोही दण्डनीय काम गरेका छन । र ल्याब टेक्निसियनको दर्ता किताबमै एमपिएच एडेड भनेर नियममै नभएको काम गरेर कानुनको धज्जी उडाएका छन ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ को परिच्छेद २को दफा ९ मा भएको नाम दर्ता र दर्ता किताबसम्बन्धी व्यवस्था ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ को परिच्छेद २ मा स्वास्थ्य शिक्षाको प्राविधिक विषयमा विभिन्न तहको उपाधि प्राप्त गरेकाहरूको नाम दर्ता सम्बन्धी व्यवस्था गरेको छ । नियमावलीको दफा ९ मा छुट्टै दर्ता किताब सम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्थाको नियम १ मा स्वास्थ्य व्यवसायीको नाम दर्ताको प्रयोजनको लागि रजिष्ट्रारले अनुसूची २ बमोजिमको ढाँचामा दर्ता किताब राख्नुपर्ने छ भन्ने उल्लेख गरिएको छ । साथै नियम २ मा उपनियम १ बमोजिम दर्ता किताब राख्दा स्वास्थ्य व्यवसायीहरूको विषयगत तथा तहगत आधारमा छुट्टाछुट्टै दर्ता किताब राख्नुपर्ने प्रष्ट व्यवस्था रहेको छ ।

तर पाैडेलले ल्याब टेक्निसियनको दर्ता किताबै एडेड भनेर कीर्ते गरी एमपिच उल्लेख गरेका छन । स्वास्थय व्यवसायी परिषद् स्रोतका अनुसार जुन दण्डनीय अपराध हो । यस विषयमा दैनिकीले धनप्रसाद पौडेलसँग जिज्ञासा राख्दा उनले आफूसँगै प्रतिस्पर्धामा लागेर पछि परेकाहरूले यस्तो आरोप लगाएको बताएका थिए । उनले आफूले एमपिएचकै दर्ता प्रमाणपत्रको साउन दोस्रो साता नविकरण गरेको दाबी गरेका थिए तर दैनिकीले परिषद्मा बुझ्दा उनको एमपिएचको कुनै दर्ता किताब नै भेट्टिएन ।

परिषद्को अध्यक्ष हुन नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ अनुसार स्वास्थ्य व्यवसायसँग सम्बन्धित विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तिमा ५ वर्ष स्वास्थ्य व्यवसायमा लागेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति हुने भन्ने उल्लेख गरिएको छ ।

यस्तै ऐनको दफा २ को उपदफा ‘घ’मा स्वास्थ्य व्यवसाय भन्नाले बिरामीको रोगको उपचार, निदान, रोकथाम र स्वास्थ्य व्यवसायसम्बन्धी कुनै कार्यलाई जनाउँदछ भन्ने उल्लेख गरिएको छ । त्यस्तै उपदफा ‘ङ’ मा स्वास्थ्य व्यवसायी भन्नेले तोकिएको न्यूनतम योग्यता प्राप्त गरी स्वास्थ्य व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । त्यस्तै सोही ऐनको दफा २ को उपदफा ‘छ’ मा दर्तावाला स्वाथ्य व्यवसायी भन्नाले दर्ता कितबमा नाम दर्ता भएका स्वास्थ्य व्यवसायी सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ ।

अहिले अध्यक्षमा नियुक्तिका लागि तयार गरिएका धनप्रसाद पौडेलको ऐनमा उल्लेखित कुनै पनि मापदण्ड नपुग्ने मन्त्रालय स्रोतले जनाएको छ । यद्यपी मन्त्री मोहनबहादुर बस्नतेको इच्छामा प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा पठाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य व्यवसायी परिषदमा ऐन विपरित अयोग्यलाई नियुक्ति दिने तयारी

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार २१:२८