२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेलाई सरकारमा सहभागी हुन हतार छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

२० भदौ, त्रिशूली । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् । प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने “वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन । सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर सङ्गठन निर्माणमा केन्द्रित हुन व्यस्त छौँ ।” उपाध्यक्ष पोखरेलले ‘समृद्ध नेपालः सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेण्डा’ बिनाका दलहरुबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गरे । पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्वतहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उनले दाबी गरे ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १३:५७