एसबिआई बैंकबाट एक करोड ऋण लिँदा म्यानेजरलाई एक लाख घुस !
१३ भदौ, काठमाडौँ । स्टेट बैंक अफ इन्डियाको लगानी रहेको नेपाल एसबिआई बैंकमा एक करोड ऋण लिँदा म्यनेजरलाई एक लाख घुस खुवाउने गरेको एउटा तथ्य बाहिर आएको छ । १२ अर्ब ठगेर भागेको अवस्थामा भारतबाट पक्राउ परेर हिरासतमा रहेका अर्थन्युजएचडी टेलिभिजनका सञ्चालक केदारनाथ शर्माले यस्तो तथ्य सार्वजनिक गरेका हुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा वयानका क्रममा शर्माले यस्तो तथ्य सार्वजनिक गरेका हुन ।
शिखर अर्गनाइजेशन नै बनाएर करिब ४० कम्पनी स्थापना गरेर व्यापार गर्दै आएका शर्मालाई प्रहरीले भरतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । अनुसन्धानकै क्रममा प्रहरीसँगको वयानमा शर्माले एसबिआई बैंकबाट ९० करोड रूपैयाँ ऋण लिँदा बैंकका म्यानेजरलाई ९० लाख घुस खुवाएको बताएका हुन । प्रति एक करोड एक लाख रूपैयाँको दरले कमिसनको रूपमा घुस बुझाएको शर्माले बताएको ब्यूरो स्रोतले जनाएका छन ।
शर्माले घुस बापतको रकम एसबिआई बैंकका म्यानेजर मनोज गौतमलाई बुझाएका हुन । उनले वयानमा शिवशिखर सहकारीका सञ्चालक सदस्य पुष्कर मल्ल मार्फत घुस दिएको उल्लेख गरेका छन । शर्माले घुसकै प्रयोजनका लागि मल्लको व्यक्तिगत खातामा ८९ लाख १३ हजार रूपैयाँ जम्मा गरेको पनि बताएका छन ।
यो पनि पढ्नुहोस्
-१२ अर्ब ठगेर सञ्चालक भागेपछि अर्थन्युजएचडी टेलिभिजन बन्द, पत्रकारको बिचल्ली
-१२ अर्ब ठगेर भागेका अर्थन्युज टेलिभिजनका सञ्चालक शर्मा भारतबाट पक्राउ
शर्माले वयानमा भने अनुसार बैंकका म्यानेजर गौतमले मल्ल मार्फत ४० लाख रूपैयाँ र शर्मासँगै ५० लाख रूपैयाँ लिएका हुन । ऋण लगानी गर्दा बैंकका म्यानेजरहरूले कमिसनको रूपमा १ देखि ५ प्रतिशतसम्म घुस खाने कुरा ओपनसक्रेट जस्तै छ । जसका कारण सीमित वर्ग र व्यक्तिलेमात्र बैंकबाट ऋण पाउने गरेका छन । प्रहरी स्रोतका अनुसार ९० लाख घुस खाएको आरोप लागेका गौतमले हिरासतमै रहेका शर्मासँग भेटेर यस्तो विषय बाहिर नल्याउन र अदालतमा हुने वकपत्रमा यसमा सुधार गरिदिन आग्रह गरेका छन ।
यस विषयमा दैनिकीले एसबिआई बैंकका प्रमुख सूचना अधिकारी रितेश अर्यालसँग चासो राख्दा आफूहरूले पनि सोमबार यस विषयमा जानकारी पाएको बताए । उनले शर्माको वयानका एक अंश एसबिआई बैंकको विषय पनि जोडिएको बारेमा बैंकले आन्तरिक रूपमा के भएको हो भनेर अनुसन्धान थालेको बताए । उनले बैंक म्यनेजरको संलग्नताका विषयमा आवश्यक छानविन हुने र त्यसको प्रकिया सुरू भैसकेको बताए ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १०:०९