१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

काम नगरेपछि प्रचण्डको घरपेटी अधिकारीलार्इ दैनिक १ लाख ४० हजार रूपैयाँ जरिवाना

१४ कात्तिक, काठमाडाैँ । समयमै काम सम्पन्न नगरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डको घरपेटी शारदाप्रसाद अधिकारीलार्इ दैनिक १ लाख ४० हजार रूपैयाँ जरिवाना तिराइने भएको छ । भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीअधिकारीलाई जरिवाना गरिएको अाजको कान्तिपुरले समाचार लेखेको छ ।

कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङरएआईपीएल जेभीले (आरामाली इन्फ्रा पावर लिमिडेट) तीन पटक म्याद थप्दासमेत काम नसकेपछि दैनिक जरिवाना गरिएको हो ।

सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरेबापत निर्माण व्यवसायीले २ सय दिन (करिब ७ महिनासम्म) ठेक्का रकमको ० दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । यस हिसाबले दिनको १ लाख ४० हजारका दरले जरिवाना रकम २ करोड ८० लाख हुन्छ । उनले निर्माण कम्पनीलाई दिइने भुक्तानीमा जरिवाना रकम कटाएरमात्र दिइने बताए ।

शैलुङ जेभी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो भने एआईपीएल भारतीय निर्माण कम्पनी । ‘एक्जिम बैंक इन्डिया’ को सहयोगमा भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली योजनाअन्तर्गत सडक निर्माण थालिएको हो । दुई वर्षमा काम सक्ने गरी सन् २०१४ जुन ५ मा २८ करोडमा सडक निर्माण सम्झौता भएको थियो । अहिलेसम्म ५० प्रतिशतमात्र काम भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०९:०८