२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कार्यर्ताबाट पाँच-पाँच सय उठाएर एमाले गण्डकीले अत्याधुनिक भवन बनाउने

८ भदाै, पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको भवन बनाउन प्रत्येक पार्टी सदस्यबाट पाँच-पाँच सय रुपैयाँ उठाउने भएको छ । एमाले गण्डकी भवन निर्माण कमिटीको विहिबार सम्पन्न बैठकले कार्यर्ताबाट पैसा उठाएर अत्याधुनिक भवन बनाउने निर्णय गरेको हो ।

पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकमा गण्डकी प्रदेश इन्चार्ज एवम् सचिव गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने भन्दै रु २५ करोड सङ्कलन गर्ने योजना रहेको बताए ।

सचिव बिष्टले प्रत्येक पार्टी सदस्यबाट पाँच सय उठाइने र सक्नेहरूले मुठ्ठी फुकाएर सहयोग गर्न आह्वान गर्दै सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने जानकारी दिए ।

बैठकमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्ने बताए । उनहरूले यो अवसरमा पार्टीका सदस्यहरू, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकलाई दिल खोलेर सहयोग गर्न आग्रह गरे ।

भवन निर्माणका लागि पहल लिएकोमा इन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिँदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो ।

बैठकमा गण्डकीका नेताहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्यहरू , जिल्ला कमिटी अध्यक्ष, संघीय र प्रदेश सांसदहरू, पालिकाका प्रमुख, उपप्रमुख, जनसंगठनका अध्यक्षहरू, उद्यमी र व्यवसायी सहभागी थिए । बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ११:५४