१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

चितवनको केरामा ‘ओइलाउने’ रोग, किसान चिन्तत

८ भदाै, चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो ।

कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गर्दछ । उहाँले भन्नुभयो, “अहिलेसम्म कार्यालयमा चारवटा बगैँचामा यस्तो समस्या आएको सूचना आएको छ ।” अहिले नयाँ बिरुवा रोपिएको बगैँचामा यो रोग देखिएको उहाँको भनाइ छ ।

पुराना बालीका अवशेष, रोगी बिरुवा, गाना तथा कृषि औजार, मौरी तथा अन्य कीराको माध्यमबाट व्याक्टेरिया केरामा सजिलैसँग सर्ने उहाँले बताउनुभयो । यो व्याक्टेरियाले गुभोको पातबाट आक्रमण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।सरसफाइ तथा बगैँचाको उचित व्यवस्थापन गर्नुपर्ने, फलको अन्तिम हाता निस्किएपछि बुङ्गो हटाइदिनुपर्ने, रोगी बिरुवाको गानोसहित हटाएर नष्ट गर्न सके यो रोगको सङ्क्रमण फैलनबाट बचाउन सकिने उहाँले बताउनुभयो ।

एउटै जग्गामा लामो समयदेखि केराखेती गरिरहँदा, रोग लागेको बगैँचामा प्रयोग गरिएको औजार निर्मलीकरण नगरी अर्को बगैँचामा प्रयोग गर्दा रोग सर्ने गरेको उहाँले जानकारी दिनुभयो । केराको जराभन्दा माथि गानो कुहिने हुँदा त्यसमा अन्य रोगले समेत आक्रमण गर्ने गरेको देखिएको उहाँले बताउनुभयो ।

केरा जोन सञ्चालक समन्वय समितिका संयोजक विष्णुहरि पाण्डेका अनुसार जिल्लामा एक चरणमा ल्याइएको केराका बिरुवामा यो समस्या देखिएको हो । उहाँले सो चरणमा १० हजार बिरुवा झारिएको बताउँदै ती बिरुवा लगाएका बगैँचामा यो समस्या देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य क्षेत्रमा पनि देखिएको हुनसक्छ । हामीले अनुगमन गरिरहेका छौँ ।”

परियोजनाअन्तर्गत केरा जोन कार्यक्रमले वितरण गरेको केरामा रोग देखिएको हो । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । यहाँ मालवोग र जी नाइन जातका केरा लगाउने गरिन्छ । यहाँका केरा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायतका सहरमा जाने गरेका छन् ।

प्रकाशित मिति : August 25, 2023 at 10:25 am