१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नुवाकोट जिप दुर्घटनाः देउरालीबाट काठमाडाैँ हिँडेको गाडी किन पुग्यो गेर्खुटार ?

४ भदाै, काठमाडाैँ । सोमबार बिहान नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा एउटा सरकारी गाडी दुर्घटना हुँदा एक जना लेखापरीक्षक (अडिटर)ले ज्यान गुमाए । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेत रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी रमेश पण्डितले दैनिकीसँग कुरा गर्दै बिहान ९ः३० बजे शुभघाटमा म्यागङ गाउँपालिकाको बलेरो जिप दुर्घटना भएको र त्यसमा होमबहादुर बस्नेतको मृत्यु भएको जानकारी दिए । बस्नेत गाउँपालिकामा अडिट फर्मको सूचीकरणका लागि गएको र काठमाडौँ फर्किने क्रममा दुर्घटनामा परेको सूचना पाएको पण्डितले बताए । यद्यपी म्यागङ गाउँपालिकाका तर्फबाट बेनामे शोक वक्तव्य जारी गर्दै ८ः३० बजे नै दुर्घटना भएको दाबी गरिएको छ । बस्नेतको निधनमा स्तब्ध भएको जनाएको पालिकाले चालक सामान्य घाइते भएको उल्लेख गरेको छ ।

म्यागङ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको बोलेरो जीप दुर्घटनामा चालक म्यागङ गाउँपालिका–५ का ३५ वर्षीय जसवीर तामाङ घाइते छ । उनको खुट्टामा सामान्य चोट लागेको छ । बस्नेतको भने स्थानीय उद्धार गरेर अस्पताल पुर्याउँदा त्रिशुली अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए ।

देउरालीबाट काठमाडौँका लागि छुटेको जीप विदुर नगरपालिकाको वडा नम्बर ८ र ९ नम्बर वडाको सीमा हुँदा त्रिशुली बजार भएर काठमाडौँ आउनु पर्नेमा गेर्खुटारतिर किन भयो भन्ने विषय रहस्यमय बनेको छ । मृतक बस्नेतको परिवारले दुर्घटना रहस्यमय भएको भन्दै गम्भीर अनुसन्धान हुनुपर्ने बताएको छ । बस्नेतका एक छोरा डा शक्ति बस्नेत मृगौला रोगसम्बन्धी उपचारमा कहलिएका चिकित्सक छन । उनी वुटवलमा रहेर सेवा गर्दै आएका छन ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २२:२२