२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइनः अध्यक्ष ओली

४ भदाै, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उहाँले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पार्नुभयो ।
“प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइन । देशमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो”, उहाँले भन्नुभयो, “जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो ।” उहाँले एमालेले मात्र जनताको समर्थन प्राप्त गर्न चाहने र बुझ्ने पार्टी रहेको बताउनुभयो । त्यसका लागि उहाँले कार्यकर्तालाई सहज र सजक ढङ्गले जनतामा जान अभिप्रेरित गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले पार्टी अगाडि बढेको बताउनुभयो । उहाँले भ्रष्टाचार र तस्किरी रोक्नका लागि भनेर आफूहरुले छानबिन समिति गठनको माग गरेको बताउनुभयो । उहाँले सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेकाले छानबिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिलेको भद्रगोलस्थितलाई समृद्धिको बाटोमा लैजान आफूले खोजिरहेको भन्दै मुलुकमा कानुनको राज र संविधानसम्मत चल्नुपर्ने भनाइ राख्नुभयो । “संविधानमा कहीकतै कमीकमजोरी रहेको छ भने भोलि संशोधन गर्न सकिन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “तर आजको संविधानअनुसार देश चलाउनुपर्दछ । पवित्र ढङ्गले देश चलोस् । कानुनको पालना राज्यले गराओस् ।” उहाँले राज्यले जनतालाई देशभक्ति र कानुन मान्न अभिप्रेरित गर्नुपर्ने भनाइ राख्नुभयो ।
यही साउन २९ गते बसेको एमाले सचिवालय बैठकले लामासहित केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २१:५२