६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापन सहित सञ्चालनमा

४ भदाै, रूपन्देही । रुपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनमा संचालनमा आएको छ । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सेयर लगानी गरी सञ्चालन गर्दै आएको होटल गैर आवासीय नेपालीहरूले खरिद गरेका हुन्।

सिल्भर हेरिटेज ग्रुपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत् नेपालमा लगानी गरेको थियो। गैरआवासीय नेपालीहरूले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इक मार्फत होटल खरिद गरेका हुन्। गत हप्ता, पत्रकार सम्मेलन राखेर यो खरिदबिक्रीको जानकारी दिइएको थियो।

हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले भने, नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्ने प्रतिबद्धता पनि उनले गरे । ‘हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं, विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनि योगदान गरौं भनेर आएका छौं, सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं,’ उनले भने ।

रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायिक दायित्वहरू र हालसम्म भएको नोक्सानीको आधारमा करिब ४ देखि ५ अर्ब नेपाली रुपैयाँ खर्च हुने सुवेदीले बताएका छन्। यो रकम सेयर खरिदको लागि भएको खर्च समेतको आधारमा हो। होटलको सबै प्रकारको ऋण साँवा गरेर २ अर्ब भुक्तानी गर्न बाँकी रहेको समेत जानकारी दिइएको छ।

सिल्भर हेरिटेजले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो। रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए र यसले नेपाल सरकारलाई करोडौ रुपैयाँ राजस्व समेत तिर्दै आएको थियो।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन। रिसोर्टले करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको थियो। रिसोर्ट पूर्ण रुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौ राजस्व पनि गुम्दै गएको थियो। रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने भन्दै आफूहरूले सेयर खरिद गरेको सुवेदीले जानकारी दिए। सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन् ।

हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपाली संघका एक जना वर्तमान अध्यक्ष कुल आचार्य, क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतको लगानी छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २०:४१