नेप्सेमा ४० अर्ब ५९ करोडकाे बाेनस सेयर सूचीकृत, कुनकाे हिस्सा कति ?
१ भदाै, काठमाडौं । २०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार यस्तो देखाएको हो ।
सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४
रहेको थियो।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीकाे हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ ।
नेप्सेमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य रु.७२८ अर्ब ९५ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० मा रु.१७९ अर्ब ८८ करोड बराबरको साधारण शेयर, रु.१०५ अर्ब बराबरको विकास ऋणपत्र, रु.४० अर्ब ५९ करोड बराबरको बोनस सेयर, रु.३५ अर्ब ५९ करोड बराबरको डिबेन्चर, रु.७ अर्ब १४ करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब १३ करोड बराबरको हकप्रद सेयर र रु.३ करोड ७९ लाख बराबरकाे FPO गरी कुल रु.३७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२२ अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.१६ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.१५ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर र रु.११ अर्ब ६० करोड बराबरको डिबेन्चर गरी कुल रु.६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १५:१०












