१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुख्खा पहिरोमा घाइते भएका प्रहरी जवान कीर्तिबहादुर नेपालीको निधन

२७ साउन, मकवानपुर । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
“बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो”, उहाँले भन्नुभयो, “हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पु¥याइएको थियो ।” नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते हुनुभएकामा उहाँको भने अवस्था सामान्य रहेको कार्कीले बताउनुभयो ।
मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उहाँको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १३:४०