विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
२६ साउन, काठमाडाैं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौँ–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रु ५० हजार, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै रु दुई लाख ५५ हजार तथा पुलामी मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै रु दुई लाख ५६ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रकाशित मिति : August 11, 2023 at 11:18 am









