८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

प्रहरी र प्रत्यक्षदर्शी रमिते बन्दा विश्वराजले गुमाए ज्यान

२४ साउन, काठमाडाैँ । सिन्धुपाल्चोक सवारी दुर्घटनामा घाइते भइ ज्यान गुमाएका विश्वराज श्रेष्ठले प्रहरी र प्रत्यक्षदर्शीको समयमा सहयोग पाएको भए ज्यान गुमाउन पर्दैनथ्याे भन्दै सामाजिक सञ्जालमा टिप्पणीहरू व्यापक भएका छन । दुर्घटनाको तस्बिर भाइरल भएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले प्रहरी र प्रत्यक्षदर्शीले रमिता हेरेर बस्दा विश्वराज श्रेष्ठले ज्यान गुमाएको दाबी गरिरहेका छन ।

मंगलबार दिउँसो करिब साढे १ बजे  विश्वराज श्रेष्ठले चलाएको दोलखाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकलाई सिन्धुपाल्चोकको १६ किलोमा काठमाडौंबाट दोलखा जाँदै गरेको पूर्व अरनिको यातायातको बा. ३ ख ५३०८ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा दुवै खुट्टा किचिएका श्रेष्ठको अस्पताल ल्याउने क्रममा निधन भएको थियो ।

गम्भीर घाइते अवस्थामा रहेका श्रेष्ठको खुट्टाबाट बगिरहेको रगत रोकथामका लागि पनि कसैले सहयोग नगरेको र प्रहरीले पनि पहिला उद्धारको साटो बिरामीलाई सडकमै राखेर घटनास्थलको मुजुल्का बनाएको देखिएको छ । उक्त तस्बिर सेयर गर्दै अहिले हजारौँले मानवता नभएकाहरू भन्दै दुर्घटनाका प्रत्यक्षदर्शी र प्रहरीको रमितेपनको चर्को आलोचना गरिरहेका छन । श्रेष्ठले हेलिकप्टर नै मगाइदिन भनेर अनुरोध गरेको तर कसैले नमगाएको प्रत्यक्षदर्शीले बताएका छन । श्रेष्ठ विदेश जानका लागि कागजपत्र बनाएर काठमाडौँ फर्कदै गर्दा दुर्घटनामा परेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार २२:३६