२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

३३ किलो सुन तस्करीको सबै काम शेरबहादुर देउवाकै पालामा भयोः विष्णु रिजाल

२४ साउन, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले ३३ किलो सुन तस्करीको सबै काम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै समयमा भएको बताएका छन । संसदमा गृह मन्त्रीले सय किलो सुन तस्करीका बारेमा जवाफ दिने क्रममा एमालेतिर लक्षित गरेर बोलेको भन्दै एमाले नेता रिजालले सामाजिक सञ्जाल मार्फत गृहमन्त्रीलाई जवाफ दिएका छन ।

रिजालले भनेका छन, ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो र जनार्दन शर्मालाई विनाविभागीय बनाएर उहाँले गृहमन्त्रालय पनि आफैँ सम्हाल्नुभएको थियो । अनि उहाँका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्थ्यो, जुन घटना २०७४ माघ ८ गते भएको हो । केपी ओली प्रधानमन्त्री त्यसको २५ दिनपछि अर्थात् २०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले भागबण्डा लगाएर सुन पुर्याउनुपर्ने ठाउँ (शक्ति केन्द्र !) हरुमा पुर्याइसकेका थिए । पछि सरकारले छानबिन गर्दा केही अभियुक्तहरु फेला परेर, गोरे उप्रेतीलगायत जेलमा पनि छन् । तर, सुनको व्यवस्थापन २५ दिनभित्र नहुने कुरै भएन, देउवाकै पालामा सबै काम फत्ते भइसकेको थियो ।
तथ्य यही हो । यसभन्दा केही फरक छ भने सार्वजनिक गर्दा हुन्छ ।’

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १०:४५