१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले घोषणा गरे आन्दोलन

२३ साउन, काठमाडाैं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले मंगलबार पत्रकार सम्मेलन गर्दै देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।

विधेयकमा प्रस्तावित कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण हुनुपर्ने व्यवस्था गरेको भन्दै विद्यालय सञ्चालकले विधेयकको विरोध गरेका छन् ।

मंगलबार पत्रकार सम्मलेन गर्दै उनीहरुले बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ-आफ्ना संगठनमा समिक्षा बैठक गर्ने र भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निजी लगानीका संस्थागत विद्यालयप्रति पूर्वाग्राही र संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण भएको उनीहरुको भनाइ छ । मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:५९