३० असार २०८१, आईतवार | Sun Jul 14 2024

हाम्रो गीत हाम्रो दायित्व


-अर्जुन पाण्डे 

हाम्रो गीत सुनीर,ने सा,साना भाइबैनि हो, अहिल्यै देखि सोच,

ठूलो भए पछि तिमी के के हुने हो ? तिमी के के हुने हो ?

विरामीलाइ निको पार्ने डाक्टर बन्छौ कि ?

खेतीपाती राम्रो गर्ने किशान बन्छौ कि ?

कारखानामा काम गर्ने मजदुर बन्छौ कि ?

साँचो साँचो कुरा लेख्ने लेखक बन्छौ कि ?

देशको निम्ति बन्दुक बोक्ने सिपाइ बन्छौ कि ?

न्याय निम्ति लडिर,ने वोकिल बन्छौ कि ?

जनताको पंक्ति भित्र आफूलाइ राख है,

अन्यायको विरुद्धमा बोल्नु पर्छ है,

नडराइ देशको निम्ति लड्नु पर्छ है ।

हाम्रो गीत सुनीर, ने……

२०३६-३७ ताक हामीले गाउने धेरै गीत मध्येको यो गीत । कतै कार्यक्रम गर्दा युवा पुस्ता त हुने नै गर्थे । गीत संगीत भनेपछि केटाकेटीहरु पनि उत्तिकै झुम्मिन्थे । शोषण, उत्पिडन, संघर्ष जस्ता राजनीतिक शब्दावली र बिचार केटाकेटीले नबुझ्ने, तर गीत संगीतमा उनीहरुको रुचिलाइ ख्याल गर्दै र भोलिको नेपाल बनाउने अभिभारा बोक्ने त्यो पुस्तालाइ बेवास्ता गर्न मिल्दैनथ्यो । त्यसैले कार्यक्रमहरुमा किशान, मजदुर, महिला, शिक्षक, श्रमिकबर्ग आदिको गीत गाउँदा केटाकेटीका निम्ति पनि एक दुईवटा गीत गाउने चलनै थियो । उतिबेला मनोरन्जनका साधन नभएको गाउँ शहर र बस्तिमा यस्ता कार्यक्रमले मानिसहरुलाई मनोरन्जन दिनुका साथै पन्चायत विरोधी राजनैतिक अभियान अघि बढाउन सघाउ गथ्र्यो ।

उतिबेला उपरोक्त गीत गाउँदा जिज्ञासु भै घाँटी तानी तानी, ध्यान पूर्वक सुनिर,ने सा,साना भाइबैनीहरु कै पुस्ता, धेरै त आजका कम्युनिष्ट नेता, मन्त्री भएका छन् । देश सम्हाल्ने ठाउँमा छन्, नीति निर्माणका थलोमा छन् । तर आज पनि देशले आशातित उन्नति गर्न सकेको छ्रैन । उतिबोलाका राजनीतिक शक्ति प्रजातान्त्रिक र बामपन्थी आज पालै पालो सत्तामा छन् र पनि देश पछाडी परेकै छ । देश झनै परनिर्भर भैरहेछ, आर्थिक रुपले झनै जर्जर बनिरहेछ । किन हुँदैछ यस्तो ?

गीत संगीतसंग रमाउने र गीतबाटै बिचार खेलाइरहँने हुँदा अहिले यिनै गीतलाई वल्टाइ पल्टाइ हेर्छु म । कतै यिनैमा पो केही कमजोरी थियो कि ? उतिबेला केटाकेटीलाइ भन्यौंः भोलि तिमी के बन्ने हो आजै देखि सोच है । अन्यायको विरोध गर्नु पर्छ है, देश बनाउने शीप सिक्नु पर्छ है आदि । त्यो सन्देशको महत्वको कम थियो भन्ने होइन । नेपालमा हामीले यो गीत गाइरहँदा अमेरिकि शिक्षाविद हावर्ड गार्डेनरको मल्टिपल इन्टेलिजेन्स थ्यौरीलाई अमेरिकाले आफ्नो शिक्षानीति बनाएर लागु गरिरहेको थियो । आफ्नो रुचि र दक्षता अनुरुपका शिप सिक अनावस्यक इन्फरमेशन दिमागमा थुपारेर नबस, आफू जुन विषयमा पोख्त छौ त्यही विधा पढ, शिप सिक, त्यसैमा काम गर भन्ने उक्त थ्यौरी उतिबेला हामीलाइ थाहा त थिएन तर गाँठी कुरा चाहिँ त्यही रहेछ । यो भन्दा भिन्न थिएन हाम्रो गीतको सन्देश । म त भन्छु उतिबेला मात्र हैन आज पनि हरेक स्कूलमा केटाकेटीलाई दैनिक सुनाउनु पर्छ यो गीत । केटाकेटीहरुलाई आज इन्फरमेशनको भारी बोकाउनु भन्दा भोली देशको हरेक क्षेत्रको काम सम्हाल्न सक्ने शिप भएको दक्ष शिल्पी बनाउनु छ ।

खासमा गीत अलि लामै छ । अहिले फकेर हेर्दा त्यो गीतसंगै पनि थोरै समस्या जोडिएको भेटर झस्केको छु म । समाजका विभिन्न पेशा उल्लेख गरेर बनाइएको सो गीतमा काम गर्नु पर्छ है, भनेर जोड दिइयो । आफै क्यै गर्नु गराउनु पर्छ है चाहिँ कतै भनिएन । अर्थात आफू रोजगारी माग्ने मात्र होइन भोलिका धेरै मानिसका निम्ति देशमा रोजगारी पनि तिमिले श्रृजना गर्नु पर्छ है, उद्योग कलकारखाना खोलेर स्वदेशी उत्पादन बढाउनु पर्छ, देशलाइ धनी बनाउनु पर्छ है, चाहिँ भनिएन । अर्थात काम गर्ने किशान मजदुरहरुका हक हीतका कुरा धेरै गरियो, तर ठूला ठूला उद्योग खोल्नु, भोली तिमी उद्योगपति बन्नु पर्छ, धनी हुनुपर्छ भन्ने कतै उच्चारण गरिएन । फलत हाम्रा दाजुभाइ आज ठूला उद्योग खोज्दै विदेशका गल्लिहरु चाहर्न पुगेका छन्।

गाउँका साहु, महाजन, जमिनदार, ठालुले दुःख दिए है भन्ने गीतहरु प्रसस्त थिए । गरीबको पक्षमा संघर्ष गर्नु पर्छ है भन्ने गीत कबिता प्रसस्त थिए तर ठूलो भएपछि उद्योग खोल है, व्यापार व्यावसाय गर है, धन कमाउ है भन्ने गीत कतै गाइएन । बरु घुमाइ फिराइ धन हुनेले शोषण गर्छ, धन कमाउनु ठीक होइन है, भन्ने भाष्य निर्माण गरियो । आफ्नो पौरखले कमाएर समृद्ध जीवन जिउन पर्छ है, भन्नु भन्दा हुनेहरुसंग खोस्नुपर्छ, हुनुपर्छ सबैलाइ बरोबर….भनेर गाइयो ।

हिजो गाउँ शहरमा चेतनाको आवाज घन्काउने कबि, लेखक, कलाकार, गीतकार सबैले भोली तिमी आफू पनि धनी बन, देशलाई पनि धनी बनाउन देशमा ठूला ठूला उद्योग खोल्ने, व्यावसाय गर्ने काम गर्नु पर्छ है भन्ने भएको भए आज उनीहरु देशमै क्यै काम गरौं, भन्थे होलान् । कामै खोज्न हज्जारौं हज्जार देशका युवा रुँदै घर परिबार छोडेर विदेश धाउनु पर्दैनथ्यो होला ।

आजका देश चलाउने पुस्तामा आफ्नो स्वर्ग जस्तो देशमा अवसरै देख्न नसक्ने हुुनु, रोजगारी आफै श्रृजना गर्छु, धेरैलाई काम दिन सक्छु भन्ने आँट नआउनु, नकारात्मक सोचले भरिएर उल्टै देशलाई गाली गर्ने र आफैँ पलायन हुने मानसिकतामा पुग्नुमा हिजो सिकाइएका र विकास गरिएका सोचले काम गरेको छैन भनेर कसरी भन्नु ? त्यसमाथि देशमै केही गर्छु भन्नेले दिन दहाडै सडकमा जल्नु पर्दाको पिडा कुनै कवि कलाकारका सिर्जनामा नअटाउनु झनै दुःखद छ ।

यतिसम्म त भयो तर आज पनि प्रगतिशिल, जनपक्षिय भनिने साहित्य, कला, गीत, रचनाहरु पुरानै धारमा बगिरहने हो भने त्यस्ता सिर्जनाहरुले समृद्धिको युग डोर्याउन सक्दैन । देश निर्माण गर्ने कर्मठ युवा तैयार पार्ने काम सरकारको मात्र होइन, संसारभर । जनतालाई जिम्मेवार बनाउने, सकारात्मक सोच बढाउने, आफ्नो भाग्य आफैले कोर्ने सक्षम बनाउने काम सबै प्रबुद्ध बर्गको हो । कबि कलाकार, संस्कृतिकर्मीका सिर्जनाले अब त्यो पाटोलाइ अनदेखा गर्नु हुँदैन । अब सबैको सोच देशलाइ समृद्ध बनाउने ,धनी बनाउने हुनुपर्दछ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १३:४४