३० असार २०८१, आईतवार | Sun Jul 14 2024

सुवास कर्माचार्य एमाले फर्किदैमा कोही खुशी र कोही दुःखी आवश्यक छैन


-किरण देउजा

यो आलेख विशेषगरी सिन्धुपाल्चोक जिल्लाका नेकपा (एमाले)का नेता र कार्यकर्ताहरुप्रति लक्षित छ । राजनीतिमा अलिअलि वा धेरै चासो राख्नेहरुलाई थाहा छ कि एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी नामकोको अर्को एउटा दल जन्मियो ।

दल त जन्मियो तर जन्मिदा, म यता भनेका धेरैजसो नेता र कार्यकर्ताहरू म यता हैन त्यता नै हो भन्दै पुरानै घर एमालेतिर फर्किन सुरू गरे । कतियय जिल्ला र पालिकामा त सिंगो कमिटीनै एमालेमा समाहित भैसकेका छन । अझै हुनेक्रम जारी नै छ । गत वर्ष निर्वाचन पश्चात यो संख्या झन धेरै बढेको छ । अझै पनि केही दोधारामा त केहि बार्गेनिङ्गमा नै छन् ।

पार्टी निर्माण चरणदेखि एमाले भएका, गर्भदेखि नै (बाआमा एमाले भएका कारण एमाले भएका) एमाले भएकाहरुले अमुक व्यक्तिको रिसले पार्टी त्यागे पनि पार्टीप्रति अझै माया छ भन्ने कुरा उनीहरुको व्यवहारबाट प्रष्ट झल्किन्छ । किनकी उनीहरूले उर्जाशील समय र जवानी पुरै पार्टीको काममा खर्चिएका थिए र छन पनि ।

माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी किन अघि बढ्न सकेन ? उक्त दलमा लागेका नेताकार्यकर्ताहरु किन धामाधम पार्टी परित्याग गर्दै छन ?  दल किन दल जस्तो हुन सकेन त ? सौताको रिसले पोईको काखमा मुतेकोको  भन्ने उखान चरितार्थ गर्दै कुण्ठा, रिस, आवेग र उक्साहटमा फरक अभियानमा लागेकाहरू बीचबाटोमा पनि नपुगी फर्किइरहेका छन । समाजवादीमा पाएको माथिल्लो पद नै छाडेर किन एमालेमै फर्किदै छन ? भन्ने विषयमा मैले केही कारणहरू यहाँ प्रस्तुत गर्दैछु ।

-नयाँ पार्टी एमाले भन्दा भिन्न हुने त परै जाओस विकृत रूपमा देखियो

-पार्टी फूटको औचित्य पुष्टि गर्न सकेनन, बरू कालान्तरमा भ्रष्टाचारको मुद्दाबाट जोगिन कांग्रेस र माओवादीको छायाँमा पुगेको पुष्टि भयो

-कार्यक्रमको ब्यानर र झन्डा उस्तै भए

-कार्यक्रमका उही नेताको (पुष्पलाल, मदन, मनमोहन) तस्बिर राखेर भाषाण गर्न थालियो

-पार्टीको विचार र दृष्टिकोण नै प्रष्ट हुन सकेन बरू महत्वपूर्ण मुद्दामा दल नै बिक्री भएको सन्देश प्रवाह भयो

-कांग्रेस र माओवादीले पनि उपयोगमात्र गरेर मिल्काउने रणनीति अख्तियार गरे

यी केही महत्वपूर्ण सवाल देशव्यापी रूपमा मिल्छन अब सिन्धुपाल्चोकतिरको कुरा गराैँ ।

पार्टी फूटको असर सिन्धुपाल्चोक (सिपा)को केही स्थानीय तहमा देखियो । सिपामा अहिले पार्टी प्रवेश बारे सामाजिक सञ्जालामा ब्यापक बहस भएको देखिन्छ । त्यो बहस वैचारिक या सांगठानिक आदि केहि होइन मात्र ब्यक्तिगत तहमा मात्र ।

१.पार्टी प्रवेश उचित

२. पार्टी प्रवेश अनुचित

बजारमा हल्ला सुनिए अनुसार शनिबार दिउँसो सुवास कर्माचार्य लगायत (जसले सिपामा एमालेको जिल्ला सचिव ८ वर्ष चलाएका थिए) केहि नेता कार्यकर्ताहरु एमालेमा पार्टी प्रवेश गर्दैछन् । पार्टी प्रवेशलाई लिएर समाजवादी निकट एमालेहरु (पार्टी फूट्ने बेला समाजवादी हुन लागेका तर अन्तिममा एमालेमा नै बसेकाहरु) अत्यन्तै खुशी देखिएका छन् भने, पार्टी फूट हुँदा एमाले हामीले जोगाएका हौँ भने २४ क्यारेट एमालेहरु दुखी देखिएका छन् । निज कर्माचार्य एमालेमा छिर्दा दुवै पक्ष खुशी या दुखी हुनु जरुरत छैन ।

कर्माचार्यले सिपामा एमाले पार्टी स्थापित गर्न धेरै दुःख गरेका छन्न त्यो सत्य कुरा कुरा हो । उनले लाभको पद समेत नपाएका भने होइनन् । पार्टीमा राजनीति गर्दै गएपछि केद्रमा पुग्नु खोज्नु स्वभाविक नै हो । एक थान केन्द्रीय सदस्य नपाउदैमा ३५/३६ साल देखि पार्टी बनाउन हिडेको मान्छेले पार्टी छोड्न हुन्थेन । पार्टी नै छोडे पनि तल्लो स्तरमा उत्रिएर गालीगलौजमा पुग्न झनै हुन्थेन । त्यो खास एमालेको चरित्र होइन र थिएन पनि ।

सिपामा समाजवादी भन्ने दलले स्थानीय तहमा कहिँ पनि निर्वाचन जित्ने हैसिएत नै थिएन । आफू जित्ने भन्दा पनि एमाले हराउन उहाँहरुको महत्वपुर्ण भूमिका रहेको कुरा घाम जत्तिकै छर्लंग छ । त्यो योगदान बारे पनि कुनै दिन पक्कै समिक्षा होला नै । अहिले नै समिक्षा गरिहाल्दा पार्टी प्रवेश गर्नेहरुको मनमा चिसो पस्नसक्छ ।

र, एउटा सत्य चै के हो भने सुवासले एमाले छोड्दै गर्दा र अहिले पनि एमालेमा जिल्ला नेतृत्वले र केन्द्रमा रहेका नेताहरुले उनको अभाव खड्किन दिन हुन्थेन । तर, उनको स्थान भन्दा माथि पुग्ने गरेर या अभाव नखट्किने गरेर जिल्लामा पार्टीको गतिविधि अत्याधिक बढाउदै, कार्यकर्ताहरुलाई अभिभावकीय नेतृत्व दिन सक्नुपर्थ्यो।

अहिले भएका नेताहरुले त्यो गर्न नसकेको सत्य हो । आफूलाई २४ क्यारेक्ट एमालेका नेता हुँ भन्नेहरु, कार्यकर्ताले स्वस्थ्य आलोचना गर्दा समेत सामाजिक सञ्जालमा ब्लक गरेर दास उत्पादन गर्दै थिए । आलोचना सुन्न नसक्ने नेता भन्दा चै आलोचना सुनेर मुसुक्क हाँस्ने क्षमता चै सुवासमा छ । सिपा जिल्लामा उनको अभाव खड्किएको जिल्लाका कार्यकर्ताहरुमा मात्र होइन केन्द्रिय नेतृत्वले नै महशुस गरेपछि उनको पुनरागमनमा सहज भएको हो । अब उनले पहिले भन्दा अझै फराकिलो छाती बनाएर पार्टी निमार्णमा लाग्छन् या आफूलाई केन्द्रमा राखेर गर्छन त्यो हेर्न बाँकी छ ।

हिमाली भेग तिर केहि सुगन्धित फूलहरु फूल्छ । ति फूल धैरै नै सुन्दर र बासनायुक्त हुन्छ, जुन फूल टिपेर बास्ना लिदाँ मान्छेलाई लेक लाग्छ, मान्छेको जीवन तल माथि पर्न सक्छ । पहाड या तराईमा त्यस्तै खाले सुगन्धित फूलहरु फूल्छ । त्यसले केहि असर गर्दैन ।

अब सुवास हिमाली भेगको फूल बन्छन् कि पहाडी तराईको हेर्न बाँकी नै छ । एमालेमा दोश्रो इनिंग राम्रै गरुन शुभकामान । सुवास कर्माचार्य लगायत सबैलाई शुभकामना । कम्तिमा पनि न्युन्तम राजनितिक सस्कार देखाउनुहोला पुनः शुभकामना ।

अत: यो समय बितेर गैहाल्छ । आउनेलाई स्वागत छोडी जानेलाई बाइबाई, यो हाम्रो पुरानै चलन हो।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ११:०८