साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला, क-कसले दिन पाउछन् आवेदन ?
२६ असार, काठमाडाैं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको हाे।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। जसमध्य ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँड गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं.५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँड प्रथम चरणमा गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। उक्त आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ। कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को प्रयोग बाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 10:50









