२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

विदेशी मुद्राको सञ्चिति २१.८ प्रतिशतले बढ्याे, ११.२ महिनाको वस्तु आयात धान्ने

२५ असार,काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विदेशी विनियम सञ्चिती २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा विदेशी विनियम सञ्चिती १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदन अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ ।

२०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : July 10, 2023 at 12:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/