२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

बाबुराम भट्टराई नेतृत्वको नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने

१९ असार, काठमाडाैं । सत्ता गठबन्धनको समाजवादी मोर्चामा नअटाएको नेपाल समाजवादी पार्टीले पनि ध्रुवीकरणको प्रयास थाल्ने भएको छ। उसले अलग्गै समाजवादी मोर्चाको प्रयास गर्न लागेको हो।

नेसपा केन्द्रीय समितिको आज बसेको बैठकपछि जारी विज्ञप्तिमा सो कार्यका लागि सो पार्टीले यही असारदेखि अभियान सञ्चान गर्ने जनाएको छ ।

आगामी पुस महिनासम्म सञ्चालन गरिने अभियानको विस्तारित खाका सार्वजनिक गर्दै सो पार्टीले सङ्गठन निर्माण तथा विस्तार अभियान २०८० अन्तर्गत अग्रगामी शक्तिको बृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहनेसमेत जनाएको छ ।

“दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आमजनताबीच सङ्गठन निर्माण गर्दै सडक, सदन र सरकारबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘सङ्गठन निर्माण तथा विस्तार अभियान’ सञ्चालन गर्न लागिएको छ”, सो पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अभियानमार्फत पार्टीलाई वैचारिकरुपमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने नेसपाले जनाएको छ । साथै, सबै स्थानीय तहसम्म सङ्गठनात्मक सञ्जाल विस्तार गर्ने नेसपाले जनाएको छ ।

अभियानको संयोजन प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्यले गर्नेछन् भने जिल्ला र पालिकाको अभियानको नेतृत्व केन्द्रीय सदस्य, सङ्घीय परिषद् सदस्य वा प्रदेश सदस्यले गर्ने छन् । नेसपाले अभियान्ताहरूले पालना गर्नुपर्ने नियम र आचारसंहिता पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 18:32