१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

छात्रवृत्ति विवरण नबुझाउने ३९ स्कुललाई बालेनले गरे एक लाख जरिवाना

५ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनले छात्रवृत्ति विवरण  नबुझाउने ३९ स्कुललाई एक लाख रूपैयाँका दरले जरिवाना गरेका छन । उनले यसको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका छन । प्रमुख शाहले ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएको र नबुझाएका ३९ लाई एक लाख जरिवाना गरेर एक पटक विवरण बुझाउने माैका दिने बताएका छन ।

यस्तो छ प्रमुख शाहले सामाजिक सञ्जलमा राखेको टिप्पणी

काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिनेछ।

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ। त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार २१:३८