६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दुर्घटनामा घाइते सुदूरपश्चिमका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन

५ असार, बझाङ । गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको नेपालगञ्ज मेडिकल कलेजdf उपचारका क्रममा निधन भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजका निमित्त निर्देशक प्रा डा ढुण्डिराज पाैडेलले सिंहको ५ः३३ बजे निधन भएको पुष्टि गरेका छन । उनले विज्ञप्ति मार्फत अस्पतालमा सम्पूर्ण परीक्षण गर्दा पनि जिवित लक्षण नदेखिएको बताएका छन । 

योसँगै सोही दुर्घटनामा निधन हुनेकाे संख्या तीन पुगेको छ । मन्त्री सिंहकी पत्नी र भाउजूको यसअघि नै निधन भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको प्रहरीले जानकारी दिएको छ । मन्त्रीका पीएसओ  प्रहरी सहायक हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको उपचार भैरहेको छ ।

मन्त्री सिंह चढेको सुप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट बझाङको चैनपुर जाने क्रममा मंगलबार दिउँसो २ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

कांग्रेस नेता सिंह गत निर्वाचनमा बझाङ प्रदेशसभा १ बाट एमालेका अफिलाल ओखेडालाई ३ हजार ७७६ मतले पराजित गर्दै  विजयी भएका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १८:१७