२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

समाजवादी मोर्चा नेपालको घोषणा हुन अझै केहीदिन लाग्छः जगन्नाथ खतिवडा

१  असार, काठमाडौं । चार पार्टीहरु मिलेर समाजवादी मोर्चाको घोषणा गर्ने तयारी जोडतोडले अघि बढाइएको छ । तर मोर्चामा आवद्ध हुने भनिएका दलहरुले आन्तरिक गृहकार्य नपुगेको भन्दै त्यसका लागि अझै केही समय लाग्ने निष्कर्ष निकालेका छन् ।

शुक्रवार बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

मोर्चामा सहभागी दलहरुले आन्तरिक गृहकार्य गर्न बाँकी रहेकोले दुईचार दिन मोर्चा घोषणा हुन नसक्ने उनको भनाइ छ । उनले भने,‘ हामीले एक वर्षअघि देखि नै पहल गर्दै आइरहेका छौं । समाजवादी मोर्चा गठनको लागि दुईतीन दिन समय लाग्ने देखिएको छ । मोर्चा निर्माणको लागि पहल गर्दै आएको हाम्रो पार्टीको आन्तरिक बैठक र तयारी पूरा गरिसकेको छ । सबैको आन्तरिक बैठक र तयारी पूरा नभएकाले आजै समाजवादी मोर्चा नेपालको घोषणाको हुन नसक्ने तर,अत्यन्तै चाँडै घोषणा गर्ने गरी अन्य दलहरुसंग छलफल भैरहेको छ ।’

उनले आफ्नो पार्टीले मोर्चा निर्माणका लागि पहिल्यै सैद्धान्तिक रुपमा सहमत भैसकेको अवस्थामा आजको बैठकले पनि सर्वसम्मत रुपमै पार्टीले मोर्चामा जाने स्वीकृत गरेको बताए । संसद र संसद बाहिर समाजवादी विचारधारालाई प्रचार गर्ने, समाजवादका पक्षमा जनमत निर्माण गर्ने, विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्दै आम जनतालाई सेवा सुविधाको उपलब्धतालाई व्यवस्थित गर्न आवश्यक पर्दा दबाब दिन सक्ने गरी मोर्चा गठन गर्न लागेको खतिवडाले दाबी गरे ।

त्यस्तै, सम्पूर्ण रुपमा अहिल्यै यो मोर्चाको प्रकृति टुंगोमा नपुगेपनि प्रदेश र जिल्लाहरूमा समेत मोर्चाको संयन्त्र बन्नसक्ने गरि प्रस्ताव गरेको खतिवडाको भनाइ छ । मोर्चामा चार कम्युनिष्ट पार्टी नेकपा माओवादी, नेकपा एस, जसपा र विप्लव नेतृत्वको नेकपा सामेल हुने निश्चित छ ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेत मोर्चामा सामेल गराउने हेतुले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक कसरत गरिरहेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १२:५४