१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

इप्पानको अध्यक्षमा कार्की र महासचिवमा खतिवडा

३१ जेठ, काटमाठाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जेठ ३२ गते मतदान गर्ने कार्यतालिका रहेपनि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी खारेज भएपछि कार्की अध्यक्ष चुनीएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारीको पनि उम्मेदवारी परेको थियो । उनको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि डाँगी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेपनि दुई जनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।

५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवार वीरेन्द्र मल्ल र दिपेन्द्र बमको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै १ महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा विनोद देवकोटाको पनि उम्मेदवारी परेको थियो । उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्वाचित भइसकेका छन् ।

त्यस्तै ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेकोमा १ जनाको योग्यता नपुगेपछि यसमा पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका नारायण कँडेलको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेपछि उनी पनि यस अघि नै निर्वाचित भइसकेका छन् । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भइसकेका छन् । ७ जना खुल्ला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन् । इप्पानको २१ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन जेठ ३२ गते हायात होटलमा हुँदैछ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १८:३५