२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कोशी प्रदेश सरकार संकटमा, माओवादीले आजै समर्थन फिर्ता लिने

२३ जेठ, काठमाडौं । माओवादी केन्द्रले समर्थन फिर्ता लिए लगतै कोशी प्रदेश सरकार संकटमा पर्ने भएको छ । कोशीमा एमाले नेतृत्वको सरकार छ ।

माओवादी सोमवार नै प्रदेश सरकारबाट बाहिरि सकेको छ । सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । सोही बिषय टुंगो लगाउन केन्द्रको प्रदेशस्थित संसदीय दलको बैठक मंगलवार ११ बजे डाकिएको छ ।

बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता हुनेछ । त्यस लगतै एमाले नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । कोशीमा अहिले एमाले नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन् ।

माओवादीले समर्थनफिर्ता लिएपछि उनको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मात्रै सहभागि हुनेछ । जुन बहुमतका लागि पर्याप्त छैन । ९३ सदस्यीय प्रदेश सभामा एमालेको ४० सिट छ भने, राप्रपाको छ सिट मात्रै छ । बहुमतका लागि कम्तिमा ४७ सिट आवश्यक पर्छ । तर, कोशी प्रदेश सरकारको पक्षमा अहिले ४६ सिट मात्रै देखिन्छ ।

त्यसो हुँदा प्रदेश सरकार संकटमा पर्ने देखिन्छ । केन्द्रकै निर्देशन अनुसार कार्की नेतृत्वको सरकारबाट सोमवार माओवादी बाहिरिएको हो । केन्द्र सरकारकै गठबन्धन अनुसार सरकार गठन गर्न माओवादीलाई काँग्रेस, नेकपा एस र जसपाले दवाव दिँदै आएको थियो ।

यसका लागि उनीहरुले गत ५ जेठमै पत्र पठाएका थिए । सोही अनुसार माओवादी कार्की नेतृत्वको सरकारबाट सोमवार बाहिरिएको हो ।
स्रोतका अनुसार माओवादी अब आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्न लाग्नेछ ।

प्रदेश सभामा माओवादीको १३ सिट छ । त्यस्तै, प्रदेश सभामा कांग्रेसको २९, नेकपा एसको चार र जसपाको एक सिट छ । केन्द्रीय गठबन्धन अनुसार नै अघि बढे माओवादीको पक्षमा ४७ सिट पुग्नेछ । र, उसैको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार ०९:४६