२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

हरेक दिन हाम्रो लागि विश्व वातावरण दिवस हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी

२२ जेठ, काठमाडाैँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपालीका लागि हरेक दिन वातावरण दिवस हुनुपर्ने बताएकी छिन । विश्व वितावरण दिवसको शुभकामना दिनेक्रममा पूर्व राष्ट्रपति भण्डारीले वातावरण संरक्षणप्रतिको नेपाल र नेपालीको प्रतिबद्धता र अभियान एक दिनमा मात्र सीमित हुन नहुने बताइन ।

पूर्व राष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन र पुन:प्रयोगलाई सुनिश्चित गर्न फोहोर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिएकी छिन । भण्डारीले यस्तो काम गर्दा प्लास्टिक प्रदुषण न्यूनीकरण गर्नुका साथै आर्थिक समृद्धि र रोजगारीका नयाँ अवसरहरू पनि सृजना गर्न सकिने उल्लेख गरेकी छिन ।

यस्तो छ भण्डारीको शुभकामना

विश्व वातावरण दिवस (जुन ५) २०२३ को शुभकामना

विश्व तावरण दिवस (जुन ५) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्‍व वातावरण दिवस’ को रूपमा मनाउन सुरु भएको यो वर्ष पचास वर्ष पुगेको छ । यो वर्ष पनि ‘प्लास्टिक प्रदूषणको समाधान’ भन्ने मुल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ । नेपालमा पनि हामी ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाउदैछौँ ।

वातावरण प्रदुषणका अनेक आयामहरूमध्ये प्लास्टिक प्रदूषण हाम्रो वातावरण र मानव जीवनका लागि ज्यादै ठूलो खतराको रूपमा देखा परेको छ । प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले भरिपूर्ण हाम्रो देश नेपाल पनि प्लास्टिक फोहोरको हानिकारक प्रभावबाट अछुतो रहन सकेको छैन । हाम्रा नदीहरू, ताल–पोखरीहरू, हिमालहरू, पहाडहरू र सहरहरू प्लास्टिकको बढ्दो उपस्थितिले फोहर र कुरुप बन्दैछन्न्, जसबाट हाम्रो पारिस्थितिकीय प्रणाली, वन्यजन्तु र मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न भएको छ ।

तथापि, यो निराशाको समय होइन । बरु, यस समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय हो । हामी सबै मिलेर यस खतराको सामना गर्न सक्छौं र सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौं । हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवं पुन: प्रयोग गर्न ठोस कदमहरू चाल्नै पर्दछ । यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पहरूको प्रयोगलाई प्रोत्साहन गर्नु पर्दछ । प्लास्टिकको झोला, स्ट्र र बोतलहरू जस्ता एकल-प्रयोग प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्ने कामलाई प्राथमिकता दिनु पर्दछ । साथै, हामीले हाम्रो दैनिक जीवनमा प्लास्टिकको फोहोरलाई न्यूनीकरण र उचित व्यवस्थापन गर्न सचेतनामूलक अभियानहरू सञ्चालन गर्नु पर्दछ ।

यसका साथै, प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन र पुन:प्रयोगलाई सुनिश्चित गर्न फोहोर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नु पर्दछ । यसरी हामीले प्लास्टिक प्रदुषण न्यूनीकरण गर्नुका साथै आर्थिक समृद्धि र रोजगारीका नयाँ अवसरहरू पनि सृजना गर्न सक्दछौँ । हामीले सास फेर्न स्वच्छ हावा, सफा र निर्मल पानी भएका नदी र तालतलैया अनि प्लास्टिक फोहोरको बोझबिना उभिएका कञ्चन हिमाल सहितको स्वच्छ र सुन्दर नेपाल बनाउन सक्छौं ।

अन्तमा, वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता र अभियान एक दिनमा मात्र सीमित हुनु हुँदैन । हरेक दिन हाम्रो लागि विश्व वातावरण दिवस हुनुपर्छ । आजको दिन हामी हाम्रा अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्ने र भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गर्ने प्रतिज्ञा गरौं । विश्व वातावरण दिवसले हामी सबैलाई हरियाली र समृद्ध नेपाल निर्माणको यात्रामा अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।

२०८० जेठ २२ गते सोमबार ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १५:४७