२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कालापानीको सट्टा बंगलादेशको बाटो मैले मागेको होइनः प्रधानमन्त्री प्रचण्ड

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि नेपालको हो भन्ने मान्यता स्थापित गर्न आफु सदैब प्रतिबद्ध रहेको बताएका छन् ।

आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नको बारेमा सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिदैं कालापानीको सट्टा बंगलादेशको बाटो आफुले नमागेको पनि स्पष्ट पारेका छन् ।

उनले यस पटक आफुलाई नेपाल फर्कदा भव्य स्वागत हुने र धन्यवाद दिने अपेक्षा गरेपनि उल्टो कुतर्क गरेर आफुलाई बदनाम बनाउने प्रयास गरिएको गुनासो गरे ।

उनले भने ‘ कालापानीको सट्टा बंगलादेशको बाटो विकल्प हुन सक्छ भन्ने धारणा मेरो होइन, तपाईहरुकै पार्टी निकट बुद्धिजीवीको सुझाव हो, मैले यसबारेमा के भनेको हो भिडियो र अन्य प्रमाणहरु छन्, यथार्थ तथ्य बुझेर बोल्नु होस्, राम्रो कुरालाई त राम्रो भन्ने अभ्यास सुरु गरौन, यसपटक आफ्नो भ्रमणमा धेरै राम्रो भएको छ, नयाँ आयाम यस भ्रमणले थपेको छ । ’

प्रधानमन्त्री दाहालले विवाद भएका सीमा क्षेत्रको समस्या समाधान नगरी नेपाल–भारत सम्बन्ध सहज नहुने बताए । उनले भने ‘ विशेष गरि सीमाको विषयमा कालापानी लिपुलेक, लिम्पियाधुरासंग सम्बन्धित विषय र सीमामा जहाँ जहाँ समस्या छन्, ती सम्बन्धमा यो सदनलाई गम्भीरताका साथ र प्रष्टसंग भन्न चाहन्छु । यो समस्यालाई हामीले समाधान गर्नै पर्छ । जब सम्म यो समस्याको स्थायी र दीर्घकालीन समाधान गरिदैंन् । नेपाल भारत सम्बन्ध सहज हुन सक्दैन् भनेर प्रष्ट संग भारतीय प्रधानमन्त्रीलाई राखेको छु । यति प्रष्टसंग सीमाको विषय हल गर्न खुलस्त राखिएको पहिलो पटक हो र भारतको प्रधानमन्त्रीले सीमा समस्या समाधान गरिन्छ र नेपाल भारत सम्बन्धलाई हिमालको उचाईमा पुर्याईन्छ भनेर बोलिएको पनि यो पहिलो पटक हो । ’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १२:४८