११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

दशैँ मनाउन मामाघर गएका अविनाशको कोशीमा डुबेर मृत्यु

१ कात्तिक, महोत्तरी । दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए। बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन्।

बालकको मृत्युले माइज्यु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन्।अचेत अवस्थमा उनीहरूकाे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच सप्तरीको सप्तकोशी नदीमा करिब ६५ वर्षीया एक वृद्धाको शव फेला परेको छ। कोशी ब्यारेजको ढोका नम्बर ५२ र ५३ को मध्यभागमा अडकिएको अवस्थामा वृद्धाको शव निकालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ। शवको परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा गरिएको छ। अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : October 18, 2018 at 3:56 pm